चितवनमा मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

चितवन, २९ बैशाख । नेपाल नर्सिङ संघ चितवनको आयोजनामा विविध कार्यक्रम सहित १९९औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । आज परेको नर्सिङ दिवसको अवसरमा नर्सिङका विद्यार्थी, कलेज तथा नर्सिङ पेसामा आवद्ध व्यक्तिहरु सहभागी भएर नर्सिङ दिवस मनाएका हुन् ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए । नर्सहरुको जिम्मेवारी धेरै रहेको उल्लेख गर्दै डल्लाकोटीले नर्सको हेरचाहको कारण समेत बिरामीको आधा रोग निको हुने बताए । विभिन्न निजी अस्पतालहरुमा कार्यरत नर्सको अवस्थामा पहिलेको भन्दा सुधार आए पनि अझै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्य रहेको कार्यक्रममा गुनासो गरिएको छ ।
नेपाल नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डेले नर्सिङ पढाउने शिक्षिकहरुले समेत न्युन शुल्कमा पढाउनुपर्ने अवस्था रहेको बताइन् । निजी कलेजहरुमा पिसिएल नर्सिङ पढाउने शिक्षिकाहरुले सरकारी स्केलभन्दा निकै थोरै रकममा काम गर्नुपर्ने अवस्था रहेको बताइन् । नर्सिङको उत्पादन धेरै हुने तथा खपत न्यून हुने कारणले समेत पीसीएल नर्स र बिएन नर्सले समेत न्यून शुल्कमा काम गर्नु पर्ने अवस्था रहेको पाण्डेको भनाइ छ ।
अस्पतालहरुले समेत स्टाफ नर्सलाई मासिक रुपमा ६ हजार रुपैयाँ मात्रै पारिश्रमिक दिने गरेको पीडित नर्सहरु बताउँछन् ।