ट्राफिक नियम पालना गर्ने प्रतिवद्धता

चितवन, २९ बैशाख । चितवनमा रहेका विभिन्न संघसंस्था, विद्यालय, सरकारी कार्यालय तथा नागरिक समाजका अगुवाहरुले ट्राफिक नियम पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा बैशाख २३ देखि सुरु गरिएको सडक सुरक्षा सप्ताह समापनको अवसरमा आयोजित कार्यक्रममा ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले आफूले सधैँ ट्राफिक नियमको पलना गर्ने प्रतिवद्धता जनाउँदै जेब्रा क्रसिङमा सवारी साधन रोकेर पैदलयात्रीलाई प्राथमिकता दिने बताए । कार्यक्रममा प्याब्सन चितवनका प्रतिनिधिहरुले विद्यालय बसलाई समेत एम्बुलेन्सलाई सरह प्राथमिकतामा राखिनुपर्ने भन्दै ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाहीको माग गरे ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबैले ट्राफिक नियमको पालना गरेको अवस्थामा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने बताए । सडक सुरक्षा सप्ताहको समापनका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने नारायणगढको नारायणी मोटर्स, पुरानो मेडिकल कलेजसहितका विभिन्न संघसंस्थालाई ट्राफिक प्रहरी कार्यालय चितवनले सम्मान गरेको हो ।