पाँच महिनादेखि रोकियो क्यान्सरका बिरामीलाई दिइँदै आएको सरकारी सेवा

काठमाडौं,बैशाख २९ । विपन्न उपचार सेवामार्फत सरकारले क्यान्सर रोगीहरूलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेट अभावमा पाँच महिनादेखि क्यान्सर रोगीहरूलाई दिइँदै आएको एक लाख आर्थिक सहायता रोकिएको बताएकी छन्।

बजेट अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरूको सूची तयार पार्ने काम पनि स्थगित गरिएको पनि सचिव चौधरीले बताइन्।आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने बताएकी छन्।

यस्तै, सचिव चौधरीले क्यान्सर जस्ता जटिल रोगहरूको उपचारका लागि सरकारले कम्तीमा पनि पाँच लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिइन्।

आँखाको प्लाष्टिक शल्यचिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ।

कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा. सन्‍दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आँखाको क्यान्सर रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्यचिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत पनि सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराएका छन्। यो रोग पाँच वर्षमुनिका बालबालिकामा देखा पर्ने गर्दछ।