त्रिविको जागिर नातेदारलाई

काठमाडाै,बैशाख २९  । राजधानीबाट आइतबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।

शनिबार जनतासमाचार डटकममा ‘जनताले पत्रकारलाई १५ वर्ष जेल हाल्न मत दिएका हुन् ?, पर्यटन विकासको लागि धार्मिक क्षेत्रको प्रवर्द्धन आवश्यक, दुई सय परिवारलाई खाद्यान्न सामाग्री वितरण, अलबिदा रेडियोकर्मी श्रेष्ठ, बढ्यो सुनको भाउ र दोस्रो मेयर कपको उपाधी खुकुरीलाई लगायतका राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जन र खेल सम्बन्धि समाचार प्रकाशित भए ।

कान्तिपुर दैनिक ले ‘त्रिविको जागिर नातेदारलाई’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । समाचार अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिष्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्धी संघ, संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्टार चन्द्रमणि पौडेल र अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाल लगायतका पदाधिकारीका नातेदारहरु परीक्षामा सफल भएका छन् । यसैगरि ‘मिडिया विधेयकको तीव्र विरोध’ र आधा जग्गामा नक्कली मोही शिर्षकका समाचार पनि पहिलो पृष्ठमै छापिएका छन् ।

नयाँ पत्रिका दैनिकले ‘जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला’ शीर्षकमा बाराको घटनालाई मुख्य समाचार बनाएको छ । हिन्दुधर्मअनुसार बुबाको दाहसंस्कार र काजकिरिया नगरेको भन्दै बाराको सुर्वण गाउँपालिका ६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । गाउँनिकाला गरिएका ओमप्रकाश यादवले हिन्दु परम्पराअनुसार काजकिरिया नगरेकाले बहिष्कार गरेको वडासदस्य जिमिलाल यादवले दाबी गरेको समाचारमा उल्लेख छ । यस्तै, लगानी र व्यापारमा नेपाल र भियतनामबीच प्रवद्दन गर्ने सहमति, खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय र काठमाडौं भ्युटावर निर्माण अनिश्चित शीर्षकका समाचार पनि प्रमुख समाचार बनाइएका छन् ।

नागरिक दैनिक मा ‘ललितानिवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा’ शीर्षकको मुख्य समाचार छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएको खुलेको हो । समाचार अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफीया किटान गरिएका सोभाकान्त ढकाल र रामप्रसाद सुवेदी तथा उनीहरुका परिवार तथा आधा दर्जन व्यापारिक घरानाले जग्गा धितो राखेर दुइ अर्ब ३० करोडभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो । यसैगरि, कमिसनको चक्करमा उपभोक्ता समिति र मिडियाप्रति कठोर बन्दै सरकार करोडसम्म जरिवाना शीर्षकका अन्य दुई प्रमुख समाचार पनि समेटिएका छन् ।

गोरखापत्र दैनिक ले नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने समाचारलाई प्राथमिकताका साथ छापेको छ । समाचारमा उल्लेख भए अनुसार नेपाल र भियतनामबीच छिट्टै हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली भियतनामको औपचारीक भ्रमणका क्रममा रहेका बेला जारी भएको संयुक्त विज्ञप्तीमा हवाई सम्पर्कबारे उल्लेख गरिएको छ । यसैगरी जैविक विषादीमा किसानको आकर्षण शीर्षकको अर्को समाचार पनि पहिलो पृष्ठमै प्रकाशित छ ।