चितवनका किसान विषादी रहित तरकारी उत्पादनमा अग्रसर

चितवन, २९ बैशाख । विषादी रहित आधुनिक तरिकाबाट बाली उत्पादन गर्ने तरिकाको बारेमा लिएको ज्ञानलाई चितवनका किसानहरुले प्रयोगात्मक रुपमा परीक्षण गर्दै आएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ आनन्दपुरको हातेमालो आईपिएम कृषक पाठशालाका किसानहरुले हप्तामा एक दिन आफूले लगाएको बालीको बारेमा अध्ययन गर्ने गरेका छन् ।

विषादी रहित कृषि उपजको उत्पादन र व्यवसायिक रुपमा कृषि कसरी गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा सञ्चालन गरिएको कार्यक्रममा सिकेको ज्ञानलाई महिलाहरुले समूह बनाएर प्रयोगात्मक रुपमा काम गर्दै आएका छन् ।
आईपीएम कृषक पठाशालामा समूहले लगाएको तरकारी बालीको पर्यावरण विश्लेषण गर्दै यहाँ भएका सजीव र निर्जीव वस्तुहरुले विरुवाको बारेमा पार्ने प्रभावको अध्ययन गरिने आईपिएम कृषक सहजकर्ता लेखनाथ पोखरेलले बताए ।
स्वस्थ बाली उत्पादन गर्नु, नियमित बाली अवलोकन गर्नु, मित्र किराको संरक्षण गर्नु र कृषक स्वयम् दक्ष बन्नु आईपीएम कृषक पाठशालाको मुख्य उद्देश्य रहेको पोरेलले बताए ।
किसानलाई नियमित बाली अवलोकन गर्न आदत बसाउने, बालीका लागि शत्रुमित्रु किराहरुको चिनारी गराउनुका साथै रोग र किरा व्यवस्थापन गर्नका लागि कुन खालको प्रविधि अपनाउने भन्ने विषयमा आईपीएम पद्धतीले सिकाउने गर्दछ । किसानहरुले आनन्दपुरमा उपसमूह निर्माण गरि तरकारी खेती गर्दै अध्ययन अवलोकन गरिरहेका पोखरेलको भनाइ छ ।