राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जनजागृती मावि पिठुवा प्रथम

चितवन २८ बैशाख । पूर्वी चितवनको टिकौली चौरमा आयोजना गएिको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जनजागृती मावि पिठुवा प्रथम भएको छ । रत्ननगर नगरपालिकाले आयोजना गरेको सो प्रतियोगितामा ७ स्वर्ण,३ रजत र ४ कास्य गरी १४ पदक जितेर जनजागृती प्रथम भएको हो । प्रतियोगितामा ३ स्वर्ण,२ रजत र ४ कास्य गरी ९ पदक जितेर बैरिया मावि द्धितीय र ४ स्वर्ण ३ रजत र १ कास्य गरी ८ पदक जितेर झुवानी मावि तृतीय भएको छ । प्रतियोगितामा शिक्षा विकास बोडिङ स्कुलका सन्दिप परियार र जनजागृती माविकी मनिषा लामिछाने उत्कृष्ट खेलाडी तथा पिस भिजन आमावि उत्कृष्ट मार्च पास घोसित भएको नगर खेलकुद विकास समितिका संयोजक केशव आचार्यले जानकारी दिए । । समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिल्य,मेडल र प्रमाणपत्र वितरण गरेका थिए । सो अबसरमा वोल्दै मेयर वनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता खेलकुद विकासको उपयुक्त माध्यम भएको भन्दै आगामी बर्ष अझै परिमार्जन गरेर खेल सञ्चालन गर्ने बताए । खेलकुदको माध्यमबाट रत्ननगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको भन्दै उनले आगामी दिनमा खेलकुदका गतिविधि बढाउदै पूर्वाधार निर्माणलाई जोड दिने बताए । । प्रतियोगितामा नगरका ३० वटा विद्यालयका करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा दौड,हाईजम्प,लङजम्प,ज्यावलिन थ्रो,सटपुट,भलिवल,कवड्डी,तेक्वान्दोका खेलहरु भएका थिए । समापन कार्यक्रममा वडा अध्यक्षहरु कृष्ण महतो,हेमराज थापा,शंकर सिं तामाङ,नगर प्रबक्ता राजेन्द्र हमाल लगायतका सहभागिता रहको थियो ।