कारागार बसेकी चार वर्षीया बालिकाले ल्याइन् ९६ प्रतिशत अंक, प्रहरीले पुर्‍याउँछन् विद्यालय

गुल्मी, बैशाख २८ ।  गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडेकी चार वर्षीया बिपिका पुन  बिहान र साँझ कारागार हुन्छिन्  दिउँसोमा विद्यालय। गत वर्ष देशव्यापी रुपमा भर्ना अभियान चलेका बेला रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्लिराज भुसालले उनलाई अभिभावकत्व ग्रहण गरे।

महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा प्ले ग्रुपमा भर्ना गराए। बिपिकाले ९६ प्रतिशत अंक ल्याउँदै कक्षा उत्तीर्ण गरिन्। कतिपय बालबालिकालाई पढ्ने अवसर हुँदाहुँदै पनि पढ्दैनन्।

कतिपय भने विभिन्न समस्यामा पढ्ने अवसर गुमाइरहेका हुन्छन्। तर, कारागारमा रहेकी दिपिकालाई नगर प्रमुखले अभिभावकत्व ग्रहण गरेपछि पढ्ने अवसर मिलेको छ।

न त घर, न त सिकाउने अभिभावक, न त विद्यालयमा अतिरिक्त कक्षा। दिउँसोमा विद्यालयमा बाहेक उनले सबै समय जिल्ला कारागारमा कटाउँछिन्। उनका लागि कारागार नै घर भएको छ। उनकी आमा शान्ता पुन कर्तव्य ज्यान मुद्दामा २०७२ साल माघ ६ गते कारागार चलान भइन्। आमासँगै नाबालिका बिपिका पनि कारागार गइन्।

पढ्ने अवसर सदुपयोग गरेकी उनले अरू विद्यार्थीभन्दा उत्कृष्ट नतिजा ल्याएकी छिन्। बालिका पुन पढ्नको लागि जिल्ला कारागारबाटै विद्यालय आउने जाने गर्छिन्।

उनलाई बिहान प्रहरीले विद्यालय ल्याउँछ र कक्षा सकिएपछि शिक्षकले कारागार पुर्‍याउँछन्। समस्यासँगै जुधेर ९६ प्रतिशत अंक उनले ९६ प्रतिशत अंक ल्याउँदै कक्षामा पनि तेस्रो स्थान हाँसिल गरेको कक्षा शिक्षक माया चुँदाराले जानकारी दिइन्।

उनले पढाइमा निकै मिहिनेत गर्ने र दिएको गृहकार्य पनि पूरा गर्ने गरेको कक्षा शिक्षक चुँदाराले जानकारी दिइन्। प्रध्यानाध्यापक केशरबहादुर थापाले उनको सबै खर्च नगर प्रमुख भुसालले बेहोर्ने बताए।

एक वर्षमा पोसाकसहित कुल ६ हजार खर्च आउने उनले बताए। रेसुंगा नगरपालिकाका नगर प्रमुख भुसाल आफूले अभिभावकत्व ग्रहण गरेकी बालिकाले धेरै अंक ल्याउँदा आफूलाई खुसी लागेको बताए। आगामी दिनमा पनि आफूले असहाय बालबालिकालाई पढ्नका लागि सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे।