चितवनको रत्ननगर १५ बन्यो वालमैत्री वडा

चितवन २७ बैशाख । चितवनको रत्ननगर नगरपालिका वडा नं १५ लाई शुक्रवार तामझामका साथ वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको छ । जनप्रतिनिधि,वडा भित्र रहेका राजनीतिक दल,टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु,विद्यार्थी,शिक्षकहरुको सहभागिताका भव्य कार्यक्रमको आयोजना गरी सो वडालाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको हो । माधवपुर माविमा आयोजित एक भब्य समारोहका बीच प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वडालाई वालमैत्री तथा वालश्रम मुक्त भएको घोषणा गरेका थिए । कार्यक्रममा पाण्डेले वडा अध्यक्ष हुमनाथ लामिछानेलाई वडा घोषणा भएको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए । वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गर्नूपूर्व गर्नुपर्ने सबै सुचक अनुसार काम गरेर सो वडालाई औपचारिक रुपमा वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष लामिछानेले बताए । कार्यक्रममा वडा अध्यक्ष लामिछाने घोषणा पूर्ण श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुर्नमिलन,उनीहरुलाई शिक्षा तथा सीप मुलक तालिम,वालकोष स्थापना,वालउद्यान निर्माण,वालक्लव गठन,वालवालिकाको जन्मदर्ता,वडा भित्रका सबै वालवालिका विद्यालयको पहुँचमा रहेको सुनिश्चितता र वाल विवहा नरहेको सुनिश्चित गरिएको बताए । सो अबसरमा नेता पाण्डेले शिक्षामा गरेको लगानी खेर नजाने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरपालिकाले लिएको लक्ष्य अनुसार एक बर्ष भित्र रत्ननगरलाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गर्ने बताए । उनले सोही अनुुसार काम गर्न सेवा प्रदायक संस्था र सकरात्मक भूमिका खेल्न वडा अध्यक्ष सहित जनप्रतिनिधिलाई आग्रह गरे । वालश्रम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गरी शिक्षा प्रदान गर्ने काम भइरहेको बताए । उनले नगरपालिकाले लिएको लक्ष्य प्राप्तीका लागि जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सभा सांसदहरु कृष्णप्रसाद खनाल,कन्चन खनाल,रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,जिल्ला समन्वय समितिकी सदस्य लीलादेबी पोखरेल,वडा अध्यक्षहरु तिलकराज शर्मा,हेमराज थापा,नगर प्रबक्ता राजेन्द्र हमाल लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा माधवपुर माविका अध्यक्ष रमेश लामिछाने,नेकपाका आशिक तामाङ,नेपाली काँग्रेसका डण्डपाणि लामिछाने,वडा स्तरीय वाल क्लवकी अध्यक्ष सचना धमला लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका वडा स्तरीय वाल क्लवका पदाधिकारी तथा सदस्यहरुले चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरु हुनु पूर्व शोभायात्रा निकालिएको थियो ।