यातायात कार्यालयमा दलालको बिगबिगी

प्रमोद कुमार साह

धनुषा, २७ बैशाख । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा सेवाग्रही मर्कामा परेका छन् ।

दलाल र कर्मचारीको मिलेमतोमा काम गर्ने क्रम बढेपछि सेवाग्रहीहरु छिटोछरितो सेवाबाट बञ्चित भएका हुन् । दुई पाङ्ग्रे सवारी नामसारी तथा ब्लुबुक नविकरण गर्ने लगायतका काम लिएर पुग्ने सेवाग्राहीहरुले सवारी पार्किङ गर्ने स्थानमै दलालहरु हात समाउन पुग्ने गरेका छन् ।

कार्यालयमा भइरहेको दलालका गतिविधिबारे कार्यालय प्रमुख अजिम मन्सुरसँग प्रश्न गर्दा मन्सुर भन्छन्, ‘यातायात व्यवस्था कार्यालय भीडभाड हुने स्थान भएकाले यहाँ सेवाग्राहीलाई भित्र प्रवेश गराएर काम हुँदैन ।’

दलालहरुले पिएनदेखि हाकिमसम्म ‘सेटिङ’ मिलाएर काम गर्ने भएकाले उनीहरुमार्फत हुने काम आधा घण्टामा नै हुने र पालो कुर्ने सेवाग्राही घण्टौ लाइन बस्न बाध्य भइरहेका छन् ।

‘मुस्कानसहितको सेवा’ प्रदान गर्ने भनि गरिएको सरकारी नारा कागजमा मात्रै सिमित बन्न पुगेको छ ।