गलत रगतले बालिकाकाे मृत्यु भएकाे घटना छानबिन गर्न समिति गठन

काठमाडौँ, २७ बैशाख । गलत रगत चढाउँदा मृत्यु भएकी बालिकाको विषयमा छानबिन गर्न सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले समिति गठन गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बालिकाको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन विज्ञहरू खटाएको केन्द्रले जनाएको छ ।

केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शल्यक्रियामा संलग्न कर्मचारी, ल्याब तथा वार्डका प्राविधिकसँग विस्तृत सोधपुछ गरिरहेका छौं, मृतकको उपचारमा उपलब्ध सम्पूर्ण कागजातको अध्ययन पनि भइरहेको छ ।’ सर्लाहीकी ५ वषर्ीया बालिका आकृति कुमारी साहको शल्यक्रियाको क्रममा अर्कै समूहको रगत चढाइएको हो । ‘ओ’ पोजिटिभ रक्त समूह भएकी उनलाई रगत ‘ए’ पोजिटिभ रगत चढाइएको थियो ।

वैशाख १७ गते मुटुको शल्यक्रिया गर्ने गर्दा किड्नी फेल भएका कारण उनको मृत्यु भएको अस्पतालले जनाए पनि आफन्त यसलाई मान्न तयार छैनन् । उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न पनि मानेका छैनन् ।

बालिकाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएकोछ । आफन्तले जाहेरी नदिएकाकारण शवको पोस्टमार्टम हुनसकेको छैन ।