चितवनको रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन २६ बैशाख । चितवनको रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीवार देखि सुरु भएको छ । रत्ननगर नगरपालिकाले स्थानीय सरकार गठन पछि पहिलो पटक तीन दिने प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश साँसद कृष्णप्रसाद खनालले खेल वहुआयामिक रहेको औल्याए । खेलकुदले अनुशासनमा बस्न सिकाउनुका साथै शत्रुतालाई मित्रतामा बदल्ने,वौद्धिक मानसिक विकासमा टेवा पुर्याउने बताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माणसंगै नगरपालिकाले शिक्षा,स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गरिरहेको वताए । उनले रत्ननगरलाई खेलको नगरको रुपमा विकास गर्ने योजना रहेको बताए । उपमेयर विमला दुवाडीले खेलकुलले मानिसलाई निरोगी मात्र नभई अनुसासित बनाउने बताइन । मेयर वनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा, रत्ननगर १० का वडाध्यक्ष एवंम् नगर खेलकुद विकास समिति संयोजक केशव आचार्य,प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिताको पहिलो दिन छात्र छात्रा १ हजार ५ सय मिटर दुरीको दौड भएको छ । छात्र तर्फ १५ सय मिटर दौडमा द्धारिकादास माध्यमिक विद्यालयका गौतम काप्री प्रथम,पञ्चकन्या माध्यमिक विद्यालयका मिलन चेपाङ द्धितिय र पिस भिजन आवासीय माविका रोहन कुँवर तृतिय भएका छन् । त्यस्तै छात्रा १५ सय मिटर दौडमा झुवानी माविकी कृपा नेपाली प्रथम हुँदा जनजागृती माविकी साक्षी प्रधान द्धितिय र पञ्चकन्या माविकी चन्द्रमती राई तृतिय भएकी नगर खेलकुद विकास समिति संयोजक केशव आचार्यले जानकारी दिए । वैशाख २८ गते सम्म चल्ने प्रतियोगितामा दौड,हाईजम्प,लङजम्प,ज्यावलिन थ्रो,सटपुट,भलिवल,कवड्डी,तेक्वान्दोका खेलहरु हुनेछन् । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सहित जनप्रतिनिधि तथा नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।