मंगलपुर सांस्कृतिक तथा व्यापार मेलाको तयारी तीव्र

चितवन, २६ बैशाख । आगामी जेठ १ गतेदेखि भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरमा सञ्चालन हुने प्रथम मंगलपुर सांस्कृतिक तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।
मेलाबारे जानकारी दिन आज मंगलपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेलाका संयोजक निर्मल भट्टराईले मंगरपुरमा रहेको दराई संस्कृतिको संरक्षण र स्थानीय कृषीलाई प्रबद्र्धन गर्न मेला आयोजना गरिएको बताए । मेलामा राखिने स्टलहरुमा कृषी क्षेत्रलाई प्राथमिकता दिइने उल्लेख गर्दै भट्टराईले कृषी सम्बन्धी स्टललाई २० प्रतिशत छुट प्रदान गरिने बताए । मंगलपुरमा लाग्ने हाटबजारलाई संस्थागत गर्नका लागि मेलाको आयोजना गरिएको समेत भट्टराईको भनाइ थियो ।
सो कार्यक्रममा मेलाका सहसंयोजक एवम् हाटबजार व्यवस्थापन समिति मंगलपुरका अध्यक्ष रमेश श्रेष्ठले मेलामा एक सय २५ वटा स्टल रहने बताए । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा दैनिक सांस्कृतिक कार्यक्रम हुने जनाउँदै श्रेष्ठले बेलुकीको समयमा कार्यक्रम हुने बताए । मेला अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको जनाउँदै श्रेष्ठले विद्यार्थीका लागि ४० रुपैयाँ तथा ज्येष्ठ नागरिकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
पश्चिम चितवन कृषीका लागि हब भएकाले कृषी क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको मेला सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । मेलाबाट आम्दानी भएको रकमको केही प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने श्रेष्ठको भनाइ छ । महोत्सवमा दराई जातिको खाना, भेषभूषा, कला र संस्कृतिका साथै विविध मनोरन्जनात्मक गतिविधि हुनेछ ।