नवलपुरमा लोकल कुखुरामा बर्ड फ्लू भेटियो

नवलपुर, २६ बैशाख । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको मध्यबिन्दु नगरपालिकामा घरमा पालिएको कुखुरामा बर्ड फ्लू देखिएको छ ।
मध्यबिन्दु नगरपालिका वडा नम्बर २ नन्दपुरका पिताम्बर महतोले पालेको कुखुरामा बर्ड फ्लू भेटिएको मध्यबिन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्यामकृष्ण तिवारीले जानकारी दिए । महतोले पालेका कुखुरा एक्कासी मर्न थालेपछि राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनको प्रयोगशालामा ल्याब परीक्षणका लागि कुखुरा ल्याइएको थियो । प्रयोगशालाले कुखुरामा बर्ड फ्लू भएको पुष्टि गरेको तिवारीले बताए ।
बर्ड फ्लू पुष्टि भएपछि महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षी विकास निर्देशनालय, पोखराको पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यबिन्दु नगरपालिकाको पशु सेवा शाखाका डाक्टर तथा प्राविधिकहरुको टोलीको रोहबरमा कुखुरा, हा“स लगायतका पंक्षी तथा पंक्षीजन्य वस्तु नष्ट गरेको हो ।
महतोको घरको वरिपरी १२ वटा घरमा रहेका एक सय ८१ वटा हा“स, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ । नष्ट गरिएको पंक्षी तथा पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको हो । त्यहाँ आसपासका क्षेत्रमा बर्ड फ्लू भए÷नभएको पत्ता लगाउनका लागि महतोको घर आपासका जिउँदा कुखुरा तथा हा“सहरुको नमुना संकलन गरी परीक्षणका लागि समेत पठाइएको छ ।