भरतपुरमा उत्प्रेरणा कार्यशाला हुने

चितवन, २६ बैशाख । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अक्सफोर्ड एकेडेमियाले भरतपुरमा उत्प्रेरणा कार्यशाला गर्ने भएको छ । बैशाख २८ गते शनिबार बिहान साढे १० बजेदेखि भरतपुरको प्रेसिडेन्ट सेकुवा कर्नरमा निशुल्क रुपमा कार्यशाला गरिने भएको हो ।
विद्यालयमा नै पुगेर प्रशिक्षण दिँदै आएको एकेडेमियाले विद्यार्थीहरुलाई लक्षित गर्दै उत्प्रेरणामूलक कार्यशाला गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चितवनको नारायणगढमा शाखा कार्यालय रहेको अक्सफोर्ड एकेडेमियाले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको छ । संस्थाका कार्यकारी प्रमुख शिशिर रेग्मीले सामाजिक उत्तरदायित्व अन्र्तगत उत्प्रेरणा कार्यशाला गर्न लागिएको बताए ।
विशेष गरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै उत्प्रेरणा कार्यशाला गर्न लागिएको रेग्मीले बताए । सो कार्यशालामा डिआर पराजुली म्याग्नेटले विद्यार्थीहरुलाई सहजीकरण गर्ने बताइएको छ । पछिल्लो समय युवापुस्तामा विकृति र नैराश्यता देखिएको भन्दै पराजुलीले उनीहरुलाई उर्जा दिन र मार्गनिर्देशन गर्न कार्यशाला गर्न लागिएको जानकारी दिए ।
युवा वर्गमा रहेको क्षमतालाई कसरी बाहिर ल्याउने र उनीहरुको कमजोरीलाई कसरी सुधार्ने भन्ने विषयमा कार्यशाला केन्द्रित रहने पराजुलीले बताए । कार्यशालामा करिब एक सय ७५ युवा एवम् विद्यार्थी रहने अपेक्षा गरिएको छ ।