उपेन्द्रसँगको एकतापछि बाबुराम समूहमा असन्तुष्टि

 

काठमाण्डौं, २५ बैशाख । संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गरेको तीन दिन वित्न नपाउँदै पूर्व नयाँ शक्ति पार्टीमा असन्तुष्टि देखिएको छ ।
असन्तुष्ट समूहका नेताहरुले बुधबार विहान ललितपुरमा भेला गरेका छन् ।

नयाँ शक्ति पार्टीका नेता मदन राईको निवासमा बसेको असन्तुष्टहरुको बैठकमा कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, भक्तबहादुर शाह, सोना स्याङताङ लगायतका १५ जना नेता सहभागी थिए ।

उनीहरुले समाजवादी फोरमसँगको एकताबारे पार्टीमा छलफल नभएको, समावेशी नभएको लगायतका आरोप लगाएका छन् ।
‘पार्टी पारिवारीक पार्टी जस्तो भयो, पारदर्शीता भएन, विभेदको अन्त्य भएन’ बैठकमा सहभागी मदन राईले भने,‘आसेपासेलाई स्याहार्ने कांग्रेस कम्युनिस्ट जस्तो पार्टीमा रुपान्तरित भएकोमा हामी दुःखी छौं ।’

उनले यस्तो गतिविधिबाट पार्टीलाई सुधार गर्न डा। भट्टराई र उपेन्द्र यादवलाई आग्रह गर्दै पत्रबुझाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘अर्को दल बनाउने भन्दा पनि यसलाई सुधारका लागि हामी केही सुझाव पार्टी नेतृत्वलाई दिन्छौं’ असन्तुष्ट नेता राईले भने,‘आज साँझ डा। भट्टराई, उपेन्द्रजी र अशोक राईलाई हामी सुझावसहितको पत्र दिन्छौं ।

भेलामा पार्टी एकताबारे नयाँ शक्तिको बैठकमा छलफल नगरेको, उपेन्द्रको पार्टीसँग एकता नभइ विलय गराएको, परिवारवाद हावी भएको लगायका विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए ।