नवलपरासी नन्दपुरमा बर्ड फ्लु, तीन सयभन्दा बढी कुखुरा र हाँस नष्ट

 

नवलपरासी, २५ बैशाख । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरका लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । नगरपालिका २ नन्दपुरका पिताम्बर महतोको घरमा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको नगरका पशु सेवा शाखा प्रमुख डा। श्यामकृष्ण तिवारीले बताए ।

डा। तिवारीका अनुसार महतोको घरका लोकल कुखुरा धमाधम मर्न थाले पछि उनले परीक्षणका लागि चितवनको राष्ट्रिय पंक्षी ल्याबमा ल्याएका थिए । त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि थप परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय ल्याबमा लगिएको हो । संक्रमित कुखुरा नष्ट गरिएको छ ।

डा। तिवारीका अनुसारका महतोको घरलाई केन्द्रविन्दु मानेर दायाँबायाँ १२ घरमा रहेका १ सय ८१ हाँस, ६५स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ ।

नष्ट गरिएको पंक्षी र पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुरिएको उनले बताए । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपंक्षी विकास निर्देशानलय, पोखराको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, मध्यविन्दु नगरपालिकाको पशु सेवा शाखाका चिकित्सक तथा प्राविधिकको टोलीले कुखुरा, हाँस लगायत नष्ट गरेको हो ।

बर्डफ्लु भेटिएका आसपास क्षेत्रमा बर्डफ्लु भए नभएको पत्ता लगाउन गाउँबाट जिउँदा कुखुरा तथा हाँसहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाएको डा। तिवारीले बताए । नेपालमै पहिलोपटक केहीदिन अगाडि बर्डफ्लुका कारण एक मानिसको निधनसमेत भइसकेको छ ।