चितवनको नारायणगढमा भरतपुर गोल्डकप सुरु

आनन्द पोखरेल
चितवन, २४ बैशाख । चितवनको नारायणगढमा ६ लाख रुपैयाँ पुरस्कार राशिको भरतपुर गोल्डकप फुटलब प्रतियोगिता सुरु भएको छ ।
एजे इन्टरनेशनल प्रालिको आयोजनामा सुरु भएको प्रतियोगतामा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, थ्रीस्टार, शंकटा सहित विभिन्न १२ टिमको सहभागिता रहेको छ । नारायणगढको क्याम्पा चौरमा जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मन्त्री दुलालले प्रदेश सरकारले खेलकुदको योजनावद्ध विकास गर्न खेलकुद कानुनको निर्माण गरेको बताए ।
विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टोलीले नेपालको शीर उँचो राख्ने गरी क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै दुलालले नेपालमा व्यसायिक खेलको सुरुआत भएकाले हामी खेलकुदको स्वर्ण युगमा प्रवेश गरेको बताए । प्रदेश सरकारले खेलकुदमा योजनावद्ध तरिकाले लगानी गर्ने उल्लेख गर्दै मन्त्री दुलालले खेलाडीको मर्का बुझेर नै आपूmहरुले खेलकुद कानुन पारित गरेको बताए ।

सो कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले खेलकुदले खेलाडीको स्वास्थ्य राम्रो बनाउनुका साथै राष्ट्रको नाम समेत विश्वमा चिनाउन मद्दत गर्ने बताइन् । पछिल्लो समय चितवनमा खेलकुदका गतिविधिहरु बढ्दै गएकाले यसको विकासका लागि स्थानीय सरकारले सक्दो पहल गर्ने ठकुरीको भनाइ छ । एजे इन्टरनेशनल प्रालिका अध्यक्ष आलोक राणाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कार्यक्रम संयोजक प्रकाश भुजेलले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ सहित गोल्डकप तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न चार वटा विधामा सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँका दरले पुरस्कार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ र प्रत्येक दिन म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।