कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित

काठमाण्डौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको होहल्ला र अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । संघीय संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका हुन्।

कांग्रेसका सांसदको चर्को विरोधकाबीच पनि पनि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।

संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध समेत गरेको थियो ।

प्रधानमन्त्रीले प्रश्नहरुको जवाफ दिने क्रममा भनेका थिए– ‘म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ मात्र दिन्छु ।’ सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दल कांग्रेसका सांसदहरुलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले मानेका थिएनन् ।

प्रतिनिधिसभाको अर्को बैठक बैशाख २७ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।