राजकुमार ह्यारीलाई पुत्रलाभ

एजेन्सी, बैशाख २४ । बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ। ह्यारीकी पत्नी मेगन मार्कलले छोरालाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई दिएका हुन्। सोमबार सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू बाबु बनेको बताएका थिए।

उनले आमा र बच्चा दुवैको स्वास्थ्य अत्यन्त राम्रो रहेको र बाबु भएकोमा आफूलाई नौलो अनुभव भएको पनि बताए। सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गरेका हुन्।

अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन्।