सिमसार संरक्षण जरुरी

विभिन्न जलचर र स्थलचर प्राणीको बासस्थानका लागि चिस्यान भएको जमिन उपयुक्त मानिन्छ । जुन जमिनलाई सिमसारको रुपमा समेत चिनिन्छ । चितवनको बीसहजारी ताल, कपिलवस्तुको जगदिशपुर ताल, कैलालीको घोडाघोडी ताल, मुगुको रारा ताल, डोल्पाको शे–फुक्सुन्डो ताल, कास्कीको फेवा ताल, इलामको माई पोखरी, सोलुखुम्बुको गोक्यो ताल, सुनसरीको कोशीटप्पु, रसुवाको गोसाईँकुण्डसहित १० वटा सिमसार क्षेत्र रामसार सुचीमा सुचीकृत छन् । घुमन्ते चरा, उभयचर, किटपतङ्ग, माछालगायतका स्तनधारी जीवहरुको सीमसारमा बस्छन् । घुमन्ते हाँसहरु सीमसार क्षेत्रमा रमाउँछन् । नेपालको सीमसार क्षेत्रले एक सय ७२ जातका माछा, एक सय ९० प्रजातिका चरा तथा तीन सय ७० प्रजातिका जीवजन्तुलाई आश्रय दिएको छ । नेपालले रामसार महासन्धि १९७१ र जैविक विविधिता महासन्धिमा हस्ताक्षर गरेको छ भने सन् १९८७ मा रामसार महासन्धिमा पनि नेपालले प्रतिवद्धता जनाएको छ ।
२०७२ सालमा कास्कीका सबै तालहरुलाई रामसार घोषणा गरियो । फेवाताल रुपाताल, वेगनाशताल, कमलपोखरी, खास्टे, गुइडे, न्यरेनी, दिपांग र मैदीताल रामसार सूचीमा परेपछि संरक्षण र अन्तर्राष्ट्रिय पहिचान पाउने उद्घोष पनि गरियो । देशका अन्य रामसार तालहरुको संरक्षणको जिम्मा संघीय सरकारले नै लिए पनि पोखराको हकमा भने स्थानीय निकायहरुले नै संरक्षणको जिम्मा पाए । घोषणा गर्दा आठवटा तालमा पानीले ओगटेको नौ सय २४ हेक्टर र तालसँग जोडिएको सेती जलाधार क्षेत्रको २६ हजार एक सय १० हेक्टर क्षेत्र संरक्षणमा ठोस काम गर्ने बताइए पनि केही काम हुन सकेन । फेवाताल संरक्षणमा सर्वोच्च अदालतले दिएको परमादेश पनि कार्यान्वयनमा आउन सकेन । वातावरणीय सन्तुलनलको लागि सीमसारको संरक्षण जरुरी हुन्छ । सीमसारको संरक्षणले चरा, माछा र उभयचरको संरक्षणको अलावा पानीका स्रोतहरु बचाउन पनि मद्दत गर्छ । पोखराको हकमा भने रामसार घोषणापछि जे अपेक्षा गरिएको थियो, त्यो हुन सकेन । बेगनाससहितका अन्य तालहरुको किनारामा बनेका संरचनाहरुले ती तालहरु पनि संकटमा पर्न थालेका छन् ।
फेवातालमा गण्डकी प्रदेश सरकार र महानगर नै मिलेर ताल किनारामा भौतिक संरचना बनाउन थालेका छन् । ताल किनाराको ६५ मिटर क्षेत्रभित्र भएका सबै भौतिक संरचना हटाउन सर्वोच्चले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने निकायले नै मापदण्ड मिचेपछि अब अन्य संरचनाहरु के हुन्छन् भन्ने प्रश्न खडा भएको छ । अझ, रामसार क्षेत्र घोषणाको कार्यान्वयन गर्ने होभने त सो क्षेत्र छुनै हुँदैन । अतः प्रदेश सरकार र महानगरले रामसार क्षेत्रको मर्म र सर्वोच्चको फैसला कार्यान्वयनतर्फ ध्यान दिनुपर्छ । झण्डासहितको पार्क बनाउने घोषणासँगै त्यहाँ बनाउने भनिएका संरचना वातावरणमैत्री हुनुपर्छ । चितवनको बीसहजारी तालमा पनि पानीको मुहान सुक्दै जान थालेको छ । ताललाई जलकुम्भीले कुरुप पारेको छ । संरक्षणका लागि तालको नियमित सरसफाईका साथै अनावश्यक झारहरु हटाउनतर्फ आवश्यक पहल हुनुपर्छ । सिमसार क्षेत्रको संरक्षणले मात्रै मानव जीवनको अस्तित्व जोगाउन सक्छ ।