महिलाहरुलाई जीवन पद्धतीबारे प्रशिक्षण

भरतपुर । मानिसको जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको सङ्क्रमण बढ्दै गएको भन्दै सचेतना अपनाउन आग्रह गरिएको छ । चितवनको भरतपुरमा सोमबार आयोजित कार्यक्रममा महिलाहरुलाई प्रशिक्षण दिँदै ८० प्रतिशत नसर्ने खालका रोगहरु खानपानका कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरुले बताए ।
ग्रीन नेपाल प्रोमोसन प्रालि र सत्यनाम नेचर केयर हस्पिटलको आयोजनामा महिलाहरुलाई प्राकृतिक स्वास्थ्य र जीवन पद्धती विषयमा दिइएको प्रशिक्षणमा रासायनिक औषधि र जडिबुटीका सम्बन्धमा जानकारी गराइएको थियो । सो कार्यक्रममा प्रशिक्षण दिँदै फर्मासिस्ट रमेश खनालले गलत खानपान तथा जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगबाट मर्नेको सङ्ख्या उच्च रहेको बताए । खानपानमा विशेष सजगता अपनाउनुपर्ने अवस्था रहेको भन्दै उनले रासायनिक त¤व मिसाइएका खानेकुरालाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताए ।
एउटा महिलाले सम्पुर्ण परिवारका सदस्यहरुको स्वास्थ्यमा सुधार ल्याउन सक्ने भएकाले महिलाहरुलाई प्रशिक्षण दिन आवश्यक रहेको उनको भनाइ छ । प्राकृतिक चिकित्सक डाक्टर दिनेश राईले प्राकृतिक थेरापी र योगमा बढी जोड दिन आग्रह गरे । मानव शरीर अर्गानिक स्वचालित यन्त्र रहेको भन्दै उनले स्वस्थ रहनका लागि प्राकृतिक जीवनशैली अपनाउनुपर्ने बताए । उनका अनुसार स्वस्थ रहनका लागि नियमित व्यायम गर्ने, हप्तामा एकपटक उपावास(ब्रत) बस्ने, दिनमा दुई पटक प्रार्थना गर्नुपर्ने, दुई प्रकारका खाना खानुपर्ने र दैनिक दुईदेखि तीन लिटर पानी पिउनुपर्छ ।
मानिसहरुको आफ्नै कारणले मिर्गौलाले काम नगर्ने, क्यान्सर जस्तो भयानक रोग लाग्ने गरेको उनीहरुको भनाइ छ । प्याकेटमा राखिएको खाद्यवस्तुमा प्रयोग हुने रसायनको कारण मानव स्वास्थ्यलाई नकारात्मक असर पर्ने राईले बताए ।