पोखरा-३३ भरतपोखरीमा औद्योगिक क्षेत्र

पोखरा २३ वैशाख ।

प्रदेश सरकारले पोखरा महानगरपालिकाको वडा नम्बर ३३ भरतपोखरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । औद्योगिक क्षेत्र स्थापनाको लागि उक्त वडाको कित्ता नं. ६०१ को २७८ रोपनी जग्गा र कित नं. ६३२ को २ हजार ८ सय ४४ रोपनी जग्गा उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गर्ने निर्णय आईतबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार उल्लिखित जग्गामध्ये प्राय जग्गा सार्वजनिक छ । केही जग्गामा भने व्यक्तिहरुले घर बनाएका छन् । “औद्योगिक क्षेत्र स्थापना गर्न उपर्युक्त जग्गा उपयुक्त देखिएको हुँदा संघ सरकारसँग माग गर्ने निर्णय भएको छ,” उनले भने ।