छैठौँ राष्ट्रिय लाखेनाचको आयव्यय  २० लाख ६६ हजार ९११ रुपैयाँ

चितवन, २३ बैशाख । छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता २०७५ को आयव्यय सार्वजनिक गरिएको छ। प्रतियोगिताको आयोजक लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले २० लाख ६६ हजार ९११ रुपैयाँको आयव्यय सार्वजनिक गरेको हो।

प्रतियोगिताबाट डेढ लाख रुपैयाँ घाटा लागेको आयोजक प्रतिष्ठान नेपालले सोमबार नारायणगढमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो। असोज ३ र ४ गते भएको छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिताको स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा मन्त्री अधिकारीले प्रतिष्ठानलाई पर्यटन मन्त्रालयको तर्फबाट पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराउने भनी आश्वासन दिएपनि पछि उनको मृत्यु भएपछि बजेट नपाइएको प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका अवसरमा सांस्कृतिक ¥याली सहित गंठे मंगल, लाखे जात्रा तथा बाघ जात्रा पनि निकालिएको थियो। हरेक दुई÷दुई बर्षमा आयोजना हुँदै आएको प्रतियोगिताको आयव्यय प्रतिष्ठानकी कोषाध्यक्ष सुभद्रा श्रेष्ठले प्रस्तुत गरेकी हुन्। प्रतियोगिता गर्नका लागी भरतपुर महानगरपालिकाले ८८ हजार ६५० रुपैयाँ, उद्योग बाणिज्य संघ चितवनले २५ हजार रुपैयाँ र राष्ट्रिय बाणिज्य बैंक काठमाडौंले चार लाख रुपैयाँ दिएको श्रेष्ठले वताइन्। अन्य विभिन्न बैंकहरुले गरेर तीन लाख १६ हजार २५० रुपैयाँ सहयोग गरेको उनको भनाइ छ।