रत्ननगर १५ लाई बैशाख २७ गते वालमैत्री घोषणा गरिने

रत्ननगर २३ बैशाख । रत्ननगर नगरपालिका वडा नं १५ लाई यही बैशाख २७ गते वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिने भएको छ । वडा घोषणाको लागि निर्धारित सबै सुचक पुरा गरी रत्ननगर १५ लाई वालमैत्री वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिए । यस भन्दा अघि रत्ननगरका ४ वटा वडा वालमैत्री घोषणा भइसकेका छन । सेवा प्रदायक संस्थाको रुपमा रत्ननगर उद्योग बाणिज्य संघले वालश्रमिकलाई श्रमबाट मुक्त गरी परिवारमा पुनर्मिलन,उनीहरुलाई शिक्षा र परिवारको आयमार्जनको काम गरिरहेको छ । वडा घोषणाको लागि सबै वालवालिका विद्यालय गएको सुनिश्चितता,वालश्रमिक नरहेको,सबै वालवालिकाको जन्मदर्ता गरिएको,वाल विवहा नभएको,वालकोष स्थापना तथा वालउद्यान निर्माण गरिएको वडा अध्यक्ष लामिछानेले बताए । यसैबीच सोमवार मेयर नारायण वनको नेतृत्वको टोलीले वालमैत्री वडा घोषणाको अन्तिम तयारीमा रहेको सो वडाको अनुगमन गरिएको छ । टोलीले सो वडालाई वालमैत्री वडा घोषणा गर्नु पूर्व गरिएका कामहरुको वारेमा स्थलगत अनुगमन गरेको हो । टोलीले वडा भित्र रहेका विद्यालय,जन्मदर्ता,वाल विवहाको अबस्था,वाल उद्यान निर्माणको बारेमा अनुगमन गरेको वडा स्तरीय वाल संरक्षण समितिका सचिव सन्तोष थापाले जानकारी दिए । २०७५ साल असोज महिनामा गरिएको सर्वेक्षणले सो वडामा ११ जना वालश्रमिक र ५ जना विद्यालय नियमित हुन नसकेका वालवालिका रहेको पाइएको थियो । ति मध्य २ जना बालबालिकाहरुलाई रोजगारदातसंग मनोपरामर्श गरि परिवारमा पुनर्मिलन,३ जना वालबालिका सीप मुलक तालिम, ६ जना बालश्रमिक र ५ जना विद्यालय नियमित नभएका वालवालिकालाई शैक्षिक सहयोग गरी विद्यालय भर्ना गरिएको वडा अध्यक्ष लामिछानेले जानकारी दिए । अनुगमनपछि आयोजित कार्यक्रममा मेयर नारायण वनले आगामी फागुन महिनाको अन्तिम साता नगरलाई वालमैत्री घोषणा गर्ने योजना रहेको रहेको बताए । नगर भित्रका होटल तथा घरमा कार्यरत वालश्रमिकलाई श्रमबाट मुक्त गरी तोकिएकै समयमा रत्ननगरलाई वालमैत्री घोषणा गरिने उनले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत संगम सापकोटा,वाल संरक्षण समितिका संयोजक राजेन्द्र हमाल,वाल संरक्षण तथा वालश्रम न्यूनीकरण समितिका सदस्य उपेन्द्र आचार्य,वालश्रम न्यूनीकरण कार्यक्रमका श्रोत व्यक्ति विश्वास श्रेष्ठ,शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्मा,शिक्षा अधिकृत राजेन्द्र बराल,स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने,महिला तथा वालवालिका शाखा प्रमुख सीता खनाल,वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमकी अधिकृत रोजिना श्रेष्ठ लगायतका सहभागिता रहेको थियो ।