नेपाली कांग्रेसले पुन: बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन गर्ने

 

काठमाडाैं, बैशाख २३ । नेपाली कांग्रेसले पुन: राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। नेपाली कांग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन हुने औपचारिक जानकारी गराएको हो।

बैशाख ११ गतेबाट सुरु हुने भनिएको सो जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो। सोही जागरण अभियान बुधबारबाट सुरु गर्न लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। जागरण अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम एक महिनाको हुने छ।

बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म संचालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा संचालन गरिने छ। त्यसका लागि पार्टीका केन्द्रीय सदस्यहरू जिल्लामा पुग्ने काम सुरु भइसकेको पनि प्रवक्ता शर्माले बताए। त्यसैगरी कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तिको अवसर पारेर सुभारम्भ हुने छ।

असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने पनि प्रवक्ता शर्माले बताए। हिमाल, पहाड, तराई-मधेस र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तर्गतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सुरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ।

प्रवक्ता शर्माका अनुसार तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रीय नेताहरू परिचालन हुने छन। नेपाली कांग्रेसले बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ।