माडीका सात आयोजनाको अनुगमन,साना भन्दा ठूला परियोजनाको काम सुस्त

माडी,२३ वैशाख । संसद विकास कोषबाट माडी नगरपालिकामा संचालित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका ५० लाख रुपैया भन्दा ठूला परियोजनाको काम सन्तोषजनक देखिएको छैैन ।माडी नगरपालिकालाई लक्षित गरि उक्त क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने साँसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संसद विकास कोषबाट विकास साझेदारी अन्तरगत एक करोड ७१ लाख रुपैयाँका सात वटा परियोजना संचालनमा छन् । तीमध्ये चार वटाको काम समयमा सकिने सम्भावना छ भने ५० लाख भन्दा बढी बजेट रहेका ठूला मध्येका दुई र अर्को एक गरि तीनवटा परियोजना निर्धारित मितिमा सम्पन्न हुने कुनै लक्षण देखिएको छैन।
जिल्ला समन्वय समितिले आइतबार गरेको स्थलगत अनुगननमा त्यस्तो देखिएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठ सहितको टोलीले उक्त सात वटा परियोजना मध्ये छ वटाको स्थलगत अवलोकन गरेको थियो ।


खैरहनी मावि भौतिक पूर्वाधार, सितलपुर सहिदपार्क सडकको काम, चिरौली चोक देखि एकता स्तम्भ सम्मको सडक, भुत्याहा खोलाको पुल सहित सितलपुर सहिदपार्क जाने सडक सम्पन्न हुने तयारीमा देखियो तर पनि सबै भन्दा बढी बजेट रहेको देउजर खोला कल्भर्ट÷पुल निर्माणको काम शुरुआती चरणमा रहेको पाइयो । जनश्रमदान सहित ६२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यसै गरि सोमेश्वर गढी क्षेत्रमा निर्माण गरिने जनश्रमदान बाहेक ४१ लाख रुपिंयाँको परियोजनाको काम सम्झौता हुन समेत बाँकी रहेको पाइयो ।
उपप्रमुख श्रेष्ठका अनुसार दक्षिणकाली आधारभूत विद्यालयको भौतिक पूर्वाधारको लागि १० लाख रुपिंयाँ बजेट विनियोजन भई सम्झौता भएको भएपनि उक्त स्थानमा समेत काम सन्तोषजनक देखिएन् ।


अनुगमन टोलीमा सहभागी नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले भन्नुभयो, ‘माडीको विकासमा निराशा देखियो ।’ उहाँले गत बर्ष माडीमा अनुगमन गर्दा आहा–आहा भन्दै अनुगमन गरेको स्मरण गर्दै यस पटक कै जस्तो सोचाई राखेको तर, एकादुई परियोजना बाहेक सबैको अवस्था उस्तै–उस्तै रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका शाखा अधिकृत बद्रीनाथ सापकोटाले सडक परियोजना र नगरपालिकाका आफ्नै योजनाको काम जस्तो गतिमा संचालित छन् स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका आयोजना त्यस्तो गतिमा नरहेको आफुले पाएको बताउनुभयो ।
नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल भने सबै परियोजनाको काम निर्धारीत मितिमै सम्पन्न हुने दाबी गर्नुृहुन्छ । उहाँले भन्नुभयो, “तपाईहरु आर्थिक बर्ष सकिनु पूर्व नै अनुगनको लागि आउनुहोस सबै काम भइ सकेका हुनेछन् । गोलपार्कको काम जमिन छनोटमै सम्स्या भएकाले ढिलाई भएको हो । भोली देखिनै त्यो काम शुरु हुन्छ ।” उहाँले विकासे परियोजनाको कुनै पनि बजेट फ्रिज नहुने गरि काम अगाडि बढाइएको दाबी गर्दै प्राविधिक रुपमा अवरोध नभए यस बर्ष विकासको काममा ९० प्रतिशत भन्दा बढी सफलता हाँसिल गर्ने पक्षमा आफुहरु रहेको दाबी गर्नुभयो ।