समलिङ्गी सँग यौनसम्बन्ध राख्नेमा ढुंगाले हानेर मार्ने कानून फिर्ता

 

एजेन्सी, २३ बैशाख । एजेन्सी–व्यापक विरोध तथा अन्तर्राष्ट्रिय आलोचनापछि ब्रुनाई सरकारले समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्यदण्ड दिइने कानून फिर्ता लिएको छ ।

गत महिनामात्रै समलिङ्गी यौन सम्बन्ध राख्ने र व्यभिचारीलाई ढुंगाले हानेर मृत्युदण्ढ दिइने कानून बनाएको ब्रुनाई व्यापक विरोधपछि भने पछाडि हटेको हो ।

त्यहाँको सुल्तान हसनल बोल्कियले मृत्युदण्डको व्यवस्था गरिएको नयाँ कानूनको निलम्बन अवधि लम्ब्याएका हुन् । गत अप्रिलमा यस्तो कानून बनाएपछि विश्वभर ब्रुनाईको आलोचना भएको थियो ।

दक्षिण पूर्वी एसियाली मुलुकमा नयाँ इस्लामिक कानूनको घोषणा गर्दै समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि कडा सजायको व्यवस्था गरिएको थियो । ब्रुनाईको कानूनमा केही अपराधको निम्ति मृत्युदण्डको प्रावधान राखिएको भएपनि सन् १९५७ यता कसैलाई मृत्युदण्ड दिइएको छैन ।