९ महिनमा साढे २७ हजार कुखुरा तथा चल्ला बरामद

बाँके, २३ बैशाख । पशु क्वारेन्टाइन चेकपोस्ट, नेपालगन्जले चालु आर्थिक वर्षको नौ महिनामा २७ हजार ४३० वटा अवैध कुखुराका चल्ला बरामद गरेको छ। यस्तै, चार हजार २४४ वटा ब्रोइलर कुखुरा बरामद गरेको छ। बरामद गरिएका चल्ला र कुखुरा नष्ट गरिएको चेकपोस्टका सूचना अधिकारी अम्मरबहादुर शाहीले जानकारी दिए। अवैध रुपमा भारतबाट नेपाल भित्रिन लागेका ब्रोइलर कुखुरा र चल्ला बरामद गरी नष्ट गरिएको हो। भारतबाट नेपाल ल्याउन पक्षी वा पक्षीजन्य वस्तु आयात गर्न प्रतिबन्ध छ। चेकपोस्टका अनुसार चालु आवको नौ महिनामा १०६ किलो कुखुराको मासु, ९४ किलो अवैध माछा र ८२६ वटा अण्डा बरामद गरी नष्ट गरिएको छ। तीमध्ये सबैभन्दा धेरै साउन महिनामा एक हजार ३४४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको तथ्यांक छ। यही महिनामा एक हजर ३०० वटा चल्ला बरामद गरिएको थियो। अवैध रुपमा कुखुरा, चल्ला, मासु, अण्डा ओसारपसार गर्नेहरुलाई पक्राउ गरी कारवाही गरिएको छ। नौ महिनामा नौ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।