भारतीय एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपसार

हेटौंडा, २३ बैशाख । नेपालबाट भारतीय एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसारपसार हुने गरेको भेटिएको छ। मकवानपुर प्रहरीले भारतीय एम्बुलेन्सबाट ६४ केजी गाँजा र एम्बुलेन्स बरामद गरेपछि यस्तो रहस्य खुलेको हो। आइतबार विहान हेटौंडा–१५ लच्कामा रोकिराखेको एम्बुलेनसमा ६४ किलो गाँजा मकवानपुर प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी अरुणकुमार कुशवाहको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा रोकी राखेको भारतीय बिआर ०६ पि ५६०५ नम्बको एम्बुलेन्स जाँच गर्दा ड्राईभरको सीट पछाडि लुकाइ राखेको गाँजा बरामद गरेको हो। एम्बुलेन्स चालक तथा तस्करहरु भने फरार रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स र गाँजा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले जानकारी दिए।