एभरेष्टको ब्युटी पार्लर तालिम सुरु

चितवन, २२ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्युटी पार्लर तालिम सुरु गरेको छ ।
आफ्ना शेयर सदस्यहरुको लागि न्यून शुल्कमा तालिम सुरु गरेको सहकारीकी व्यवस्थापक सरु ढकालले जानकारी दिइन् । सहकारीले भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढमा रहेको स्वस्ती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा ४५ दिने तालिम सुरु गरेको हो ।
आफ्ना सदस्यहरुलाई सीप सिकाएर आत्मनिर्भर तथा व्यवसायिक बनाउने उद्धेश्यले तालिम प्रदान गरिएको ढकालले जानकारी दिइन् ।
स्वस्ती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा आइतबारदेखि आयोजना गरिएको सो बेसिक तालिममा एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका ४० जना शेयर सदस्यहरु सहभागी छन् । संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तर्गत सुरु भएको ब्युटी पार्लर तालिममा सहभागीहरुले व्यवसाय सञ्चालन गर्न चाहेमा उनीहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने ढकालले बताइन् ।
सहभागीहरुलाई स्वस्ती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक सिर्जना स्वतीले प्रशिक्षण दिने एभरेष्ट साकोसको ब्युटी पार्लर तालिम संयोजक एवम् शिक्षा उपसमिति सदस्य अग्मु श्रेष्ठले जानकारी दिइन् ।