बर्डफ्लुले संकटमा पोल्ट्रीको राजधानी चितवन, अर्थतन्त्रमा नै नकारात्मक असर

चितवन,२२ बैशाख । राजधानी काठमाडौंमा बर्डफ्लु (एच फाइब एन वान)को कारण युवकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि पोल्ट्री व्यवसायमा लागेका किसान र व्यवसायी त्रसित छन्। पोल्ट्री क्षेत्रमा करिब ८० अर्ब लगानी छ।

दाना उद्योगमा मात्रै ४० अर्ब लगानी छ। मुलुककै आत्मनिर्भर पोल्ट्री व्यवसाय बर्डफ्लुका कारण धरासायी हुने चिन्ता थपिएको छ। स्वास्थ्य मन्त्रालयले बर्डफ्लु लागेर मृत्यु भएका व्यक्तिको नाम, उमेर र ठेगाना खुलाएको छैन। उनको निधन बर्डफ्लुकै कारण भनिएपनि त्यसको विस्तृत विवरण नदिएर अर्बौ लगानी भएको व्यवसायलाई धरासायी बनाउने नियत देखिएको आशंका समेत केही व्यवसायीले गरेका छन्।

 पोल्ट्री महासंघ नेपालका अध्यक्ष एवं अविनाश ह्याचरीका संचालक गुणचन्द्र विष्टले अर्बौ लगानी भएको पोल्ट्री व्यवसायलाई संकटमा पार्नेगरि सरकारी निकायले हल्ला चलाएको आरोप लगाए।‘बर्डफ्लुका कारण निधन भएका व्यक्तिको नाम किन गोप्य राखियो। जनस्वास्थ्यको विषयमा निधन भएको व्यक्तिको सबै विवरण गोप्य राखेर खेलवाड गरिएको छ’ उनले बिजमाण्डूसँग भने,’निधन भएका व्यक्तिलाई कहाँ बर्डफ्लु लागेको हो। यसको सबै विवरण नदिई पोल्ट्री व्यवसायलाई संकटमा पार्ने गरि हल्ला फिँजाउने काम भयो।’

उनले आत्मनिर्भर भएको र अर्थतन्त्रमा ठूलो टेवा दिएको क्षेत्रलाई समाप्त पार्ने योजना सरकारी निकायबाटै भएको आरोप लगाए।‘देशमा एउटा मात्रै व्यवसाय पोल्ट्री आत्मनिर्भर थियो। यसमा हजारौं किसान आवद्ध थिए। यसलाई समाप्त पार्ने उदेश्यसहित रणनीतिक चाल चालिएको देखिन्छ। होइन भने यो विषयमा सरकारी निकायले चाँडै स्पस्ट पारोस।’ विष्टले भने। अहिले विदेशबाट दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ वाहेक कुखुराको मासु र अण्डामा देश आत्मनिर्भर छ।

नेपाल भेटेरिनरी एशोसिएसनले समेत विज्ञप्ति जारी गर्दै निधन भएका व्यक्तिको नाम,ठेगाना,पेशा लगायतका विवरण गोप्य राख्नु शंकास्पद रहेको जनाएको छ। एशोसिएसनले रोगको कारण एच फाइब एन वान भाइरसको थप अध्ययन नगरिएको जनाउँदै कुन स्रोत/स्थानको भाइरससँग मेल खाएको हो भन्ने प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि आपत्ति जनाएको छ।

एशोसिएसनले एच फाइब एन वान भाइरस पहिचान गर्ने प्रविधि राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रहेपनि त्यसलाई वेवास्ता गर्दै जापान पठाएकोमा पनि आश्चर्य व्यक्त गरेको छ।स्वास्थ्य मन्त्रालयले निधन भएका व्यक्तिको र्याल परीक्षणका लागि जापान पठाएको र त्यहाँबाट बर्डफ्लु पुष्टी भएको जनाएको थियो।

पोल्ट्री क्षेत्रमा भएको लगानी र पोल्ट्री प्रोडक्टका हिसाबले चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ । पोल्ट्री क्षेत्रमा भएको ८० अर्ब रुपैयाँ हाराहारीको लगानीमध्ये करिब आधा लगानी चितवनमा भएको छ। आत्मनिर्भर मानिएको पोल्ट्री क्षेत्र तहसनहस हुने बित्तिकै समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने सम्भावना देखिन्छ ।

अध्यक्ष बिष्ट काठमाडौंमा बर्डफ्लु देखिँदा उपभोक्तामा भ्रम पर्ने गरी सरकारले सन्देश प्रवाह गरेकोले उपभोग घटेको दाबी गर्छन् । उपभोक्ता विचलित नहुने हो भने पछिल्लो घटनाले पोल्ट्री क्षेत्रलाई असामान्य प्रभाव नपार्ने उनको ठम्याई छ ।

मासुको लागि पालिने ब्रोइलर कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग नेपालमा दुई सयभन्दा बढी छन् । अण्डाको लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा २५ लाख चल्ला उत्पादन हुँदै आएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ । दानाको उत्पादन वृद्धिसँगै मूल्य पनि बढको छ । पहिले ५० रुपैयाँ प्रतिकिलो पर्ने कुखुराको दाना अहिले ५५ देखि ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

नेपाल अण्डा उत्पादक संघका महासचिव त्रिलोचन कँडेल अहिले नेपालमा दैनिक ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको बताउँछन् । अण्डाले बजार मूल्य पाउन नसक्दा उत्पादन घट्दो क्रममा रहेको उनी बताउँछन् । कुखुरापालक किसानले जिउँदो ब्रोइलर कुखुराको मूल्य एक सय ८० देखि दुई सय रुपैयाँसम्म पाउँछन् । ब्रोइलर कुखुराको तयारी मासुको मूल्य थोक दुई सय ८० र खुद्रा तीन सय रुपैयाँ प्रतिकिलो छ । देशभर दैनिक पाँच सय टन मासु उत्पादन हुन्छ ।

मासुको कूल उत्पादनमध्ये २० प्रतिशत चितवनमा उत्पादन हुन्छ । हुर्किएको कुखुरालाई महँगो दाना खुवाएर घाटा सहनुभन्दा सस्तो मूल्यमा बिक्री गरेर खोर खाली गराउँदा कम नोक्सानी हुने कुखुरापालक किसान दीपक पाण्डे बताउँछन् । हुर्किएको कुखुरालाई दैनिक एक सय २० ग्राम दाना खुवाउनु पर्नेमा आधामात्र खुवाउने गरेको उनले बताए ।

‘व्यवसायी आत्तिनुपर्दैन’

कुखुरा र हाँसको मासु तथा अण्डा उपभोग गर्दै आएकाहरु बर्डफ्लु सर्ने डरले उपभोग गर्ने कि नगर्ने भनी अन्यौलमा परिरहेको बेला पोल्ट्रीविद् एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा. तिलचन्द्र भट्टराई अहिले आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन् ।

‘थाइल्याण्ड, चीनमा पनि बर्डफ्लुबाट मानिसको मृत्यु भएको थियो, तर पोल्ट्री क्षेत्रमा दीर्घकालीन असर परेन’ डा. भट्टराई भन्छन्, ‘विश्व अनुभवका आधारमा हेर्दा हामीकहाँ पनि तत्काल उत्पादनमा असर पर्ला तर दीर्घकालीन असर पर्दैन ।’ विश्वमा अहिलेसम्म ८ सय ५० जनामा बर्डफ्लु भेटिएको र तीमध्ये चार सय जना जतिको मृत्यु भएको उनी बताउँछन्।

स्वाइनफ्लु, रेबिज, डेंगुबाट पनि मानिस मरिरहेको बताउँदै उनले जैविक सुरक्षा (बायो सेक्युरिटी) मा ध्यान दिन आग्रह गरे । मरेका कुखुरा र बिग्रेका अण्डाको राम्रोसँग डिस्पोज गर्ने, उपभोक्ताले राम्रोसँग पकाएर मासु र अण्डा सेवन गर्ने, खोर एवं पोल्ट्रीका सामान ओसारपसार गर्ने सवारीमा जैविक सुरक्षा अपनाउनु पर्ने उनको सुझाव छ । पछिल्लो परिस्थितिको सामना कसरी गर्ने भन्ने विषयमा एकदुई दिनभित्रै छलफल गर्ने तयारी भइरहेको उनले बताए ।

जीडीपीमा योगदान चार प्रतिशत

देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिएपनि औषधि र कच्चापदार्थको लागि भारतको भर पर्नुपर्ने अवस्था विद्यमान छ।

अण्डाको लागि चितवनमामात्र तीन सयभन्दा बढी व्यवसायीले ३० लाख लेयर्स कुखुरा पालेका छन् । मासुको लागि ब्रोइलर्स कुखुरा पाल्ने व्यवसायी सयौँ छन् । जिल्लामा रहेका पाँच दर्जन ह्याचरीले दैनिक चार लाख ब्रोइलर र लेयर्स चल्ला उत्पादन गरिरहेका छन्। पोल्ट्रीसँग सम्बन्धित औषधि उद्योग, दाना उत्पादक कारखाना र अण्डा राख्ने क्रेट बनाउने उद्योग अधिकांश चितवनमा नै रहेका छन्।

पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न र यस व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाबीच समन्वय गर्न चितवनमा नेपाल कुखुरा व्यवसायी मञ्चको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार, मञ्चमा विभिन्न आठ वटा व्यवसायिक संस्था आवद्ध छन्।

मञ्चमा आवद्ध संस्थाहरुमा नेपाल अण्डा उत्पादक संघ, नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, कुखुरा मासु व्यवसायी संघ र चितवन नवलपुर दाना वितरक संघ रहेका छन् ।