प्रदेश ३ मा भयावह बन्दै सवारी दुर्घटना : नौ महिनामा ३७३ जनाको मृत्यु

चितवन, २२ बैशाख । प्रदेश ३ मा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या भयावह देखिएको छ। सडक सञ्जाल विस्तार हुँदै गर्दा दुर्घटना पनि बढ्दै गएको पाइएको हो।

प्रदेश ३ को उपत्यकाबाहिरका १० जिल्लामा चालू आर्थिक वर्ष ०७५\७६ को वैशाख १५ सम्ममा ३७३ जनाको मृत्यु भएको छ। यीमध्ये पुरुष २९१, महिला ६०, बालिका १० र बालक १२  जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ।

सबैभन्दा धेरै चितवनमा तथ्यांक अनुसार चितवनमा सबैभन्दा धेरै १२६ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम रसुवामा पाँच जना छन्। चितवनपछि धेरै मृत्यु हुने जिल्लामा धादिङ ७०, मकवानपुर ४५, नुवाकोटमा ३८, सिन्धुलीमा ३६, काभ्रेमा ३०, रामेछाप १३ र दोलखामा नौ जनाको मृत्यु भएको छ।

एक हजार तीन सय २१ जना घाइते

दुर्घटनामा परी ५७२ गम्भीर, ७४९ सामान्य गरी एक हजार ३२१ जना घाइते भएका छन। ८६४ वटा सवारी दुर्घटनामध्ये सबैभन्दा धेरै ३३१ मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ। यस्तै मोटरसाइकलपछि ट्रक, ट्रयाक्टर १६० वटा र ३५ वटा टिपर दुर्घटनामा परेको पाइएको छ।

  चालकको लापारबाही 

प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नविनराज राईका अनुसार दुर्घटना हुनुमा चालकको लापरबाही मुख्य कारण देखिएको छ।

चालू आवमा चालकको लापरबाहीका कारण २५३ वटा दुर्घटना भएका छन। यस्तै तीव्र गतिका कारण २४५, मापसे ४६ र ओभरटेकका कारण १९ वटा दुर्घटना भएको राईले बताए। विशेषगरी मध्याह्न १२ बजेदेखि राति १२ बजेको समयमा बढी दुर्घटना हुनेगरेको प्रहरीले जनाएको छ। बिहान कम दुर्घटना हुने गरेको तथ्यांकमा उल्लेख छ।

धेरै दुर्घटना पक्की सडकमा

पक्की सडक विस्तार हुँदैजाँदा दुर्घटनाको दर पनि बढ्दैगएको पाइएको छ। उपत्यकाबाहिर प्रदेश ३ को सबैभन्दा धेरै कालोपत्रे सडक रहेको चितवनमा दुर्घटनाको संख्या धेरै रहेको छ भने मृत्युको संख्या पनि अन्य जिल्लाको तुलनामा दोब्बर बढी रहेको छ।

तथ्यांकअनुसार हाईवेमा सबैभन्दा बढी दुर्घटना हुनुका साथै मृत्यु पनि धेरै रहेका छन्। हाइवेमा ३४९, ग्रामीण क्षेत्रमा १९३ र शहरी इलाकामा ३९ वटा सवारी दुर्घटना भएका छन्। पछिल्लो समय गाँउगाँउमा सडक सञ्जाल विस्तार भए पनि सडक सुरक्षा नअपनाउँदा ग्रामीण क्षेत्रमा दुर्घटना बढेको ट्राफिक प्रमुख राईले बताए।

१० करोड बढी राजस्व संकलन

कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतका अनुसार यसअवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ४६ हजार ७७७ वटा सवारी साधानमाथि कारबाही गरिएको छ। ती सवारीसाधनबाट  १० करोड २५ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको बस्नेतले जानकारी दिए।  १० करोडको भौतिक क्षति

सडक दुर्घटनामा परी ५०४ वटा सवारीसाधन क्षतिग्रस्त हुँदा १० करोड बराबरको क्षति भएको छ।