प्रेसिडेण्ट ग्रुपको नवाैँ शाखा महाराजगञ्जमा, रेष्टुरेण्टबारे अध्यक्ष भण्डारीसँगकाे कुराकानी

काठमाडाैँ, २२ बैशाख । प्रेसिडेण्ड ग्रुप आफ होटेलले ९ वटा शाखाहरू खोलेको छ । आफ्ना सेवाहरूलाई अझै गुणस्तरीय बनाउँदै लगेको छ । कम्पनीभित्र काम गर्ने केही कर्माचारीहरूलाई सेयर समेत दिइएको छ । यो समूहभित्र सात जनाको टिम छ । प्रेसिडेण्ड ग्रुप आफ होटेलले सुन्धारामा चार वटा शाखा खोलेको छ । बालाजु, रविभवन, लुम्बिनी र चितवनमा एक–एक वटा शाखा खुलेका छन् । वैशाख २४ गतेबाट प्रेसिडण्ट ग्रुप अफ होटेलको ९औँ शाखा महाराजगञ्जको भाटभटेनी सुपरमार्केट नजिकै औपचारिक रुपमा खुल्दै छ । हाल परीक्षणका रुपमा सामान्य सेवा दिँदै आएको प्रेसिडेण्ट सेकुवाले महाराजगञ्जको शाखालाई महत्वपूर्ण शाखाका रुपमा लिएको छ । सोही विषयमा  विमल योगीले अध्यक्ष शंकर भण्डारीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश

प्रेसिडेण्ड ग्रुप आफ होटेलको ९औँ शाखा किन खोल्नु भयो ?

देशमा रोजगारीको विकराल अवस्था छ । मान्छेहरू वैदेशिक रोजगारीमा पलायन भइरहेका छन् । होटेल व्यवसायमा हामीले थोरै/धेरै जानकारी बटुलीसकेका छौँ । आफूले बटुली सकेको ज्ञान देशमा प्रयोग गर्दा हामीले जानीसकेको व्यवसायलाई निरन्तरता दिएका हौँ । एउटा ब्राण्ड बनिसकेको रेष्टुरेण्टको चेन ठाउँ–ठाउँमा खोल्दा त्यसले पैसा कमाउनेभन्दा पनि रोजगारी सिर्जना हुन्छ । पैसा नै कमाउनका लागि छोटाबाटाहरू धेरै छन् । हाम्रो व्यवसायलाई पनि विस्तार गर्नु हो ।

यो होटेल व्यवसायमा कसरी लाग्नुभयो ?

२०६३ सालदेखि होटेल व्यवसायमा प्रवेश गरियो । प्रेसिडेण्ट भन्ने होटेल सुन्धारामा खोल्यौँ । त्यहीबाट शुरुवात भयो होटेल व्यवसाय । त्योभन्दा पाँच वर्ष अगाडि मैले चार वर्षजति पार्टनरमा होटेलमा व्यापार गरेको थिएँ । त्यहाँबाट मलाई थोरै/धेरै अनुभव पनि भयो । अलिकति पैसा पनि भयो । पैसाभन्दा पनि ज्ञान भएपछि मान्छेलाई आँट दिन्छ । कुनै पनि विषयमा तपाई दक्ष हुनुभयो भने काम गर्न उत्प्रेरणा हुन्छ । मैले यो काम गर्न सक्छु भन्ने आँट आउँछ ।

तपाईहरूले महाराजगञ्जमा ९औँ शाखा खोल्नु भएको छ । यो रेष्टुरेण्टमा ग्राहकहरू किन आउने ?

काठमाडौंको हिसावले हेर्ने हो भने यो ‘ए’ ग्रेडको रेष्टुरेण्ट हो । मेनुलाई हामीले असाध्यै न्युन मूल्यमा राखेका छौँ । सस्तैमा खानाहरू बिक्री गर्छौं । उच्च क्वालिटीको खाना प्रस्तुत गर्छौं । सस्तो मेन्यु भयो भन्दैमा कमसल खालको खाना र सेवा दिँदैनौँ । महाराजगञ्ज क्षेत्र रेसिडेण्टलमा पर्छ । महाराजगञ्जको आसपासको क्षेत्र व्यापारिक दृष्टीकोणले पनि महत्वपूर्ण मानिन्छ । बुढानिलकण्ठ, बालुवाटार आदि क्षेत्रका ग्राहकलाई हाम्रो रेष्टुरेण्टले लक्षित गरेको छ । यो क्षेत्रमा भीआइपीहरू धेरै बस्द छन् । उहाँहरू खानाको अत्यन्तै सौखिन हुनुहुन्छ । यहाँका उपभोक्ताहरूलाई लक्षित गरेर शाखा खोलिएको छ । त्यति मात्रै होइन थोरै पैसा हुने निम्न वर्गीय व्यक्तिहरू पनि हाम्रो रेष्टुरेण्टमा आएर मज्जाले खाना खान सक्नु हुन्छ । प्रेसिडेण्ट सेकुवा मल्टिक्वीजन रेष्टरेण्ट हो । सबै प्रकारका खानाहरू हाम्रो रेष्टुरेण्टमा पाइन्छ । नाम चाहिँ प्रेसिडेण्ट सेकुवा भएपनि हाम्रो सिग्नेचर डिस सेकुवा भएपनि यहाँ सबै प्रकारका खानाहरू पाइन्छ ।

तपाईहरूको यो रेष्टुरेण्टमा ग्राहकहरू के खान आउने ? यहाँको स्पेशल के हो ?

मैले पहिला पनि भनेको छु । हाम्रो यो रेष्टुरेण्ट मल्टिक्वीजन रेष्टुरेण्ट हो । हाम्रो रेष्टुरेण्टमा सबै प्रकारको डिस पाइन्छ । इण्डियनअन्तर्गत नान, करी आदि पाइन्छ । इटालियन खानाहरू पिज्जा, पास्ता पनि पाइन्छ । कन्टिनेन्टलमा अमेरिकन फुडहरू प्रस्तुत गरिन्छ । टिपिकल नेपाल खानाहरू जस्तै सेकुवा, छोइला, साँधेको आइटमहरू, झानेको आइटमहरू पाइन्छ । यी हाम्रा सिग्नेचर आइटम हुन् । मुख्यतः सेकुवा, झानेको, पोलेको मासु र छोइला नै हाम्रो परिकार हुन् । हाम्रो रेष्टुरेण्टको विशेषतामा खसी र कुखुराको सेकुवा पर्छ ।

खसी भनेर बाख्रीको मासुलाई सेकुवा बनाएर बेच्ने गरेको आरोपहरू छ नि ?

काठमाडौंमा खसी आउने ठाउँ भनेको मुख्यतः कलंकीको खसी बजार हो । त्यहाँबाट विभिन्न ठाउँहरूमा खसी सप्लाइ हुन्छ । हामीले छ–सात वर्षदेखि आफै गएर त्यस बजारबाट खसी किनेर आफ्नै खोरमा राख्छौँ । हप्ताभरिको लागि खसी छानेर आफ्नै खोरमा राख्छौँ । आवश्यक परेको बेला एउटा–दुइटा गरेर निकालेर ल्याउँछौँ । काठमाडौंमा धेरै रेष्टुरेण्टहरू छन् । खसीको मासु पाउने ठाउँ कमै मात्रै देखेका छौँ भनेर खसी व्यापारीहरूले भन्थे । खसी व्यापारीहरूले पनि प्रेसिडेण्ट सेकुवामा खसीको सेकुवा पाइन्छ भन्ने गर्नु हुन्छ । खसी मात्रै भनेर पनि हुँदैन । खसी स्वस्थ्य छ कि छैन ? त्यो खसी अंग भङ्ग भएको छ कि छैन ? खसीलाई ज्वरो आएको छ कि ? खसी छिप्पिएको छ कि ? खसी साह्रै नै कलिलो छ कि ? त्यस विषयमा पनि हामी विज्ञ छौँ । कुन क्वालिटीको खसी खाने ? कुन अवस्थाको खसी खाने ? स्वस्थ्य र अस्वस्थ्य खसी कस्तो हुन्छ ? ती सबै कुरालाई हेरेर स्वस्थ्य, खान योग्य, नधेरै बुढो, नधेरै कलिलो त्यस प्रकारको खसी छानेर खुवाउने र्छौं । खसी नै मात्रै भनेर हुँदैन ।

व्यापार व्यवसायमा चुनौती पनि छ । स्थानीय तहले करमा च्याप्दै लगेको छ । करले अफ्ठ्यारो बनाएको छ कि छैन ?

हामी समयमा कर तिर्छौं । कारोबारलाई चुस्त दुरुस्त राख्छौँ । हामीलाई अहिले नै करले अफ्ठ्यारो बनाएको अवस्था छैन । पहिलाको तुलनामा कर धेरै नै वृद्धि भएका छन् । साधारण प्यानमा दर्ता भएको व्यवसाय वार्षिक रुपमा नवीकरण गर्न जाँदा ३५ सय तिर्नु पर्दथ्यो । अहिले साढे १५ हजार तिर्नुपर्छ । झण्डै चार सय गुणा कर बढेको छ । व्यवसायीहरू मर्कामा परेका छन् । कर बढाउने तर, सुविधा दिइँदैन । खानेपानीको अवस्था बिकराल छ । पानी धारामा आउँदैन । मेलम्ची कथा जस्तो भइसक्यो । ट्याङकरबाट पानी किनेर चलाउनुपर्छ । पीडा छ । समस्या छ । बिजुलीको पनि समस्या छ ।

तपाईहरूको रेष्टुरेण्टमा पार्किङको व्यवस्था के छ ?

हामीसँग पार्किङको राम्रो व्यवस्था छ । समस्या छैन ।

परिवारसहित आउन मिल्छ कि मिल्दैन ? खानाको आइटम के–के छन् ?

मल्टीक्वीजन फेमली रेष्टुरेण्ट हो । परिवारसहित आउनेहरूको लागि क्याबहरूको व्यवस्था छ । छुट्टै हलको व्यवस्था छ । ग्यादरिङ, पार्टी गर्ने व्यवस्था छ । प्रसस्त ठाउँ रहेको छ । होम डेलिभरीको व्यवस्था छ । हामी कहाँ ग्राहकले चाहने सबै प्रकारको खाना पस्किन सक्छौँ । ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, खाना स्वादिस्ट’ भन्ने नारा नै राखेका छौँ ।

मूल्य कति महँगो छ ?

काठमाडौंमा चलेका रेष्टुरेण्टको तुलनामा हाम्रो मेनु निकै नै सस्तो छ । हाम्रो सेवा, खानाको परिकार, क्वालिटीअनुसार हाम्रो मेनु सस्तो राखेका छौँ ।

प्रेसिडेण्ट सेकुवा एण्ड रेष्टुरेण्टका सेफ र कर्मचारीहरूले कस्तो सेवा दिन्छन् ?

सेफहरू हाम्रो कर्पोरेट हुनुहुन्छ । हाम्रा रेष्टुरेण्टहरूमा एउटै किसिमको टेस्ट दिन्छौँ । कर्मचारीहरू अत्यन्तै दक्ष छन् । नयाँ कर्मचारी आए पनि उनीहरूलाई कम्तीमा तीन महिना ट्रेनिङमा राखेर त्यसपछि हामीले काममा लगाउने गर्छौं । हस्पिटालिटी ग्राहक आएपछि फिल गर्ने गरी उपलब्ध गराउँछौँ ।

कति जनालाई रोजगारी दिनुभएको छ ? कति कमाइ गर्नुभएको छ ?

प्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा धेरैलाई रोजगारी दिएका छौँ । म आफू गाडी चढ्दैन । विदेश जाने दुई–चार जनालाई मात्रै भएपनि रोक्न सकेको छु । मेरो योगदानले देशका लागि सानो सहयोग पाएको छ । मलाई विदेशमा गएर काम गर्नु परेको छैन । राम्रोसँग बसेको छु । केही व्यक्तिहरूलाई रोजगारी दिएको छु । राज्यलाई कर तिर्न सकेको छु । कमाइभन्दा पनि इज्जतसाथ व्यवसाय गरेर बसेको छु ।

रेष्टुरेण्टमा लगानी मैत्री वातावरण छ कि छैन ?

राज्यले मात्रै गरेर हुँदैन । हामी आफूले पनि गर्नुपर्छ । राज्यलाई मात्रै दोष दिनु हुँदैन । हामीसँग दक्ष जनशक्ति छैन । पानी, बजुली, ट्राफिकको समस्या छ । धुलो र धुवाँले पनि लगानी वातारणलाई धुमिल बनाइदिएको छ ।