पच्चिस वर्षपछि पदमपुरमा भीमवली मेला लाग्ने

चितवन, २१ बैशाख । पुरानो पदमपुर स्थानान्तरणसँगै रोकिएको भीमवली मेला यसवर्षदेखि पुनः लाग्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको पुरानो पदमपुरको बस्ती सारेर नयाँ पदमपुरमा ल्याएपछि भीमवली मेला रोकिएको थियो ।
कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरमा भीमवली बाबाको मन्दिर निर्माण भएसँगै यस वर्षदेखि भीमवली मेला सञ्चालन हुने भएको हो । बैशाख पञ्चमीको दिनदेखि भीमवली मेला सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बैशाख २४ गते भीमवली बाबाको मूर्तिमा प्राण प्रतिष्ठा गरिने र बैशाख २५ देखि २७ गतेसम्म भीमवली मेला आयोजना हुने बताइएको छ ।


भीमवली मन्दिर संरक्षण समितिका अध्यक्ष नन्दप्रसाद भट्टराईका अनुसार भारतको राजस्थानमा निर्माण गरिएको साढे चार फिट अग्लो ११ क्विन्टल तौल भएको भीमवली बाबाको मूर्ति मन्दिरमा राखिसकिएको छ । बैशाख २४ गते मूर्तिको प्राण प्रतिष्ठासँगै नियमित पूजाआजा हुने उल्लेख गर्दै भट्टराईले सोही दिन गढीमाईको मूर्तिमा समेत प्राण प्रतिष्ठा गरिने जानकारी दिए ।
मन्दिरका पूजारी चन्द्रदेव गुरौका अनुसार मन्दिरमा बैशाख २५ देखि तीन दिनसम्म ठकरबाजी नाच हुनेछ । परम्परादेखि नचाइदै आएको ठकरबाजी नाच पूर्वी तराईबाट ल्याइने जानकारी दिँदै गुरौले सो नाचमा २८ जना कलाकारहरु सहभागी हुने बताए । महाभारत तथा विभिन्न कथाहरुका आधारमा नृत्य हुने भएकाले भीमवली मेलालाई ठकरबाजी नाचले थप आकर्षण बनाउने गुरौको भनाइ छ ।
मेला व्यवस्थापन समितिका संयोजक जयचन्द्रप्रसाद चौधरीका अनुसार मेलामा ५० वटा भन्दा बढी स्टलहरु राखिनेछ । पुरानो पदमपुरमा २०२७ सालदेखि भीमवली मेला लाग्ने गरेको भएपनि बस्ती स्थानान्तरणसँगै सो मेला हराएको चौधरीले बताए । परम्परादेखि नै ठकरबाजी नाच प्रस्तुत गरिने भएकाले चितवनका थारुहरुमा सो नाच नाच्ने प्रचलन हराएकाले पूर्वी तराईबाट कलाकार ल्याउनुपर्ने अवस्था आएको चौधरीको भनाइ छ ।
भक्तजनहरुले इच्छाएको बर पाउनका लागि भीमवली बाबाको पूजा गर्ने परम्परा रहेको चौधरीले बताए । मेला अवधिभरी विभिन्न खेलकुदका कार्यक्रम समेत हुने बताइएको छ ।