थाई राजाको राज्यभिषेक समारोह शुरु

काठमाडौ, २१ बैशाख । थाईल्याण्डका राजा महा वाचिरालङ्गनको राज्याभिषेक समारोह शुरु भएको छ । तीन दिनसम्म चल्ने राज्याभिषेक समारोह पछि राजा वाचिरालङ्गनलाई थाइल्याण्डमा ईश्वरीय शक्ति प्राप्त व्यक्तित्व मानिने छ ।

थाइल्याण्डमा संवेधानिक राजतन्त्र छ । थाईल्याण्डमा राजपरिवारलाई अगाध श्रद्धा गरिन्छ । थाईल्याण्डमा राजतन्त्रको आलोचना गर्न नपाइने कडा कानुन छ ।

सन् २०१६ मा तत्कालीन थाई नरेश पुमिपोन अदून्यदेतको निधन भएपछि उनका उत्तराधिकारी महा वाचिरालङ्गनले राजगद्दी सम्हालेका थिए । दिवंगत नरेश अदून्यदेतले लामो समय राजगद्दी सम्हालेका कारण ७० वर्ष पछि थाइल्याण्डमा राज्याभिषेक समारोह हुन लागेको हो । थाईल्याण्डका नागरिक ऐतिहासिक राज्याभिषेक हेर्न आतुर छन् ।

महा वाचिरालङ्गनले केही दिनअघिमात्र आफ्नी प्रेमिकासँग लगनगाँठो कसेका थिए । लामो समयदेखि प्रेमप्रसंगमा रहेका राजा महा वाचिरालङ्गनसँग बैवाहकि सम्बन्ध गाँसिएपछि सुटिडा वाचिरालङ्गन थाइल्याण्डकी रानी हुने भएकी छिन् ।

थाईल्याण्डमा राजनीतिक अनिश्चितता भएको बेला राजा वाचिरालङ्गनको राज्याभिषेक हुन लागेको छ । सन् २०१४ मा सैनिक कू भएपछि पहिलो पटक गत मार्च महिनामा आम निर्वाचन भएको हो । तर नयाँ सरकार भने बनिसकेको छैन ।