फिल्म समीक्षा :  स्वाद न व्यादको ‘दाल, भात, तरकारी’ 

रीना मोक्तान

हाँस्य विधामा नेपाली रंगमञ्चदेखि टेलिफिल्म हुँदै फिचर फिल्मसम्म आफूलाई जब्बर रुपमा स्थापित गरेका छन्, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले। सरकारका काम कारवाहीमाथि कटाक्ष गर्दै प्रहसनबाट मन जितेका यी दुई कलाकारको सबैभन्दा उत्कृष्ट फिल्म भने ‘बलिदान’ नै हो। लामो समय अभिनय यात्रामा रहेको मह जोडी अभिनित २०५० को दशकको ‘बलिदान’ बाहेकका फिल्म सम्झन योग्य रहेनन् भलै ती फिल्मले बक्स अफिसमा बलियो उपस्थिति देखाए।

टेलिफिल्ममार्फत् जनजीविकासँग जोडिएका मुद्दा उठाउँदै सानो पर्दामा सधैं हिट रहे यी दुई। ‘लोभी पापी’ मार्फत् नेपाली फिल्म इन्ड्रस्टीमा कमेडी जनरा स्थापित गर्ने श्रेय पनि यो जोडीले नै पाउँछ। २०४५ सालमा आएको फिल्म ‘लोभीपापी’ बनेको पनि ३० वर्ष भइसक्यो। सीमित स्रोतसाधन र बजेटमा ‘लोभीपापी’ बनेको तीन दशकपछि यो जोडीकै अर्को फिल्म आएको छ, ‘दाल, भात, तरकारी’।

कुनै पनि विधामा तीन दशकको सक्रियता अतुलनीय र सफल मानिन्छ। यस बीचमा उनीहरुकै धार समातेर धेरै कलाकार स्थापित पनि भइसकेका छन्। व्यवसायिक हिसाबले फिल्मी रेसमा उनीहरुलाई उछिन्नेहरु पनि छन् र उनीहरुसँग उदाएका कतिपय त रजतपटबाटै पलायनसमेत भइसकेका छन्। यसर्थ पनि लिजेन्ड्री आर्टिस्टबाट बढी अपेक्षा हुने गर्छ। त्यही दृष्टिकोणबाट हेर्ने हो भने ‘दाल भात तरकारी’ कस्तो छ त?

बलियो पक्ष, फिल्ममा मह जोडी देख्न पाइन्छ।

कमजोर पक्ष, मह जोडीले ‘दाल भात तरकारी’ मार्फत् परम्परागत् शैलीमा जबर्जस्ती हसाउन खोजेका छन्। पटकथा, प्रस्तुतीकरण र पात्रलाई स्थापित गर्ने आधार नै तयार पारेका छैनन् फिल्ममा।

२ घण्टा १० मिनेट लामो फिल्मलाई टेली श्रृङ्खलाका रुपमा टुक्र्याएर टेलिकास्ट गर्ने हो भने पनि कुनै फरक पर्दैन। अब यसैलाई राम्रो पक्ष मान्ने हो भने बाँकी तर्क गर्नुको अर्थ छैन। फिल्मका सबै पात्र दर्शक हसाउँने ध्येयले जुटाइएका छन्। कथा भने, नेपाली समाजको विदेशिने मानसिकताकै फेरोमा घुम्छ।

रामहरि (हरिवंश आचार्य) र उर्मिला (निरुता सिंह) अमेरिका उड्न चाहन्छन्। जसरी पनि विदेशिन उनीहरुको साहरा बन्छन् एकजना ‘बाबा’। गायकबाट विदेश पठाउने एजेन्ट बनेका बाबा (शिशिर वाङ्देल)मार्फत् उनीहरुको अमेरिकी योजनाको प्लट तयार हुन्छ।

घर धितो राखेर बाबाको ‘फि’ तिर्छन्। उर्मिलाका छोरा राओ (पुष्प खड्का) र उनकी प्रेमिकाले पनि अमेरिका जान उनैकहाँ पासपोर्ट बुझाउँछन्। के उनीहरुले अमेरिकाको भिसा पाउलान्? यसकैको वरिपरि घुमेको छ फिल्म।

पर्दामा अभिनेत्री निरुता निकै लाउड सुनिन्छन्। फिल्मको सुरुको प्लटमा उर्मिला (निरुता) र रामहरिको झगडा अव्यवहारिक नै लाग्छ। त्यही दृश्यलाई अनावश्यक तन्काइएको पनि छ। लाग्छ उनीहरु फिल्ममा होइन नाटकको स्टेजमा अभिनय गरिरहेका छन्।

पात्रहरुको लाउड अभिनयले दर्शकलाई झर्को लाग्नसक्छ। ‘मंगलम’बाट अभिनयको तारिफ बटुलेका पुष्पको अभिनय यहाँ ‘खास’ लाग्दैन। आँचलको अभिनय ‘शत्रुगते’मा जस्तै देखिन्छ।

दुई श्रीमान् श्रीमतीको झगडामा राजाराम पौडेल अम्पायर बनेको दृश्य भने रोचक लाग्न सक्छ, दर्शकलाई। तर, त्यसैले फिल्ममा बाँध्ने ल्याकत राख्दैन।

फिल्म केन्द्रीय द्वन्द्वमा नै अल्मलिएको छ। दोस्रो हाफमा ‘जीउ सन्चै’ (वर्षा राउत)को प्रवेशपछि त फिल्मको कथाले एउटा बाटो छोडेर अर्कैतिर लाग्छ।

गायक स्वामी बाबाको भूमिकालाई शिशिर वाङ्देलले न्याय गरेका छन्। फिल्मले बाबाको भेषमा अपराध अनि ठगी गर्नेहरुको कथालाई उनीमार्फत् समेट्न खोजिएको छ। बाबालाई देशका राजनीतिक व्यक्ति र भक्तहरुले कसरी साथ दिइरहेका छन् भन्ने देखाउँछ फिल्मले।

नेपाली समाजको विदेशिने मानसिकता अनि बाध्यतासँगै बाबाहरुको असली स्वरुपलाई हरिवंशले पटकथामा उतार्न त खोजेका छन् तर त्यसमा नराम्ररी चुकेका छन्।

फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन्। उनी हास्य कलाकार किरण केसी (राता मकै)का छोरा हुन्। सुदनले फिल्मबाट के देखाउन खोजेका हुन्, कतै खुल्दैन। उनीमाथि हरिवंशको पटकथा हावी छ। निर्देशन कलामा जम्न सकेका छैनन् सुदन।

फिल्ममा पार्श्व संगीतको प्रयोग सान्दर्भिक नै छ। ‘बराबर तिम्रो मेरो माया बराबर’, ‘घाँस काट्ने खुर्केर’को नयाँ भर्सनको प्रयोग ठीक दृश्यमा छैन।

फिल्मले महिलाको मुद्दालाई समेत छुन खोजेको देखिन्छ। महिलालाई लिन कालले समेत महिला प्रतिनिधि पठाउनुपर्ने तर्क गरिएको छ।

स्टार कास्टको भिड छ फिल्ममा। प्रियांका कार्कीको क्रेजकै कारण हुनुपर्छ उनलाई यसमा आइटम गर्ल बनाइएको छ। तर, फिल्मको पोस्टरमा प्रियांकालाई ठूलै स्पेस दिइएको छ।

भिएफएक्सको प्रयोग दक्षिण भारतीय फिल्मबाट प्रेरित भएको छ। अब यसैलाई फिल्मको लिवर्टीसँग जोडेर व्याख्या गर्ने हो भने फरक कुरा हो।

‘स्ट्याण्ड अप’ कमेडीको स्वाद चाखिरहेका दर्शकलाई यो फिल्म झेल्न त्यति सजिलो छैन। कमेडी जनराको फिल्म बनाउन थालेका ‘मह संचार’को फिल्मले युवा दर्शक निराश हुने निश्चित छ। हरिवंश र मदनकृष्णका फ्यानले भने केही हदसम्म यसबाट मनोरञ्जन लिन सक्लान्।

पुरानै ढर्राबाट दर्शक हसाउने प्रयास गर्नु हरिवंशको असफल प्रयास हो। हरिवंश र मदनकृष्णको ‘हाइ प्रोफाइल स्टारडम’सामु निर्देशक सुदनले आफूलाई स्थापित गर्नु सानोतिनो चुनौतीको विषय होइन। फिल्मले त्यही असमान्जस्यता प्रकट गर्छ। न फिल्मले मह ब्रान्ड थेग्छ, न त निर्देशकले आफूलाई स्थापित नै गर्न सक्छन्। यति चाहिँ पक्का – फिल्म बनेको छ, फिल्ममा मह जोडी छन्। यसबाहेक उनीहरु हुनुको अर्को तर्क भने छैन।

अन्त्यमा, हलिउड फिल्म ‘एभेन्जर्स इन्ड गेम’सँग प्रतिस्पर्धाको डरले एक साता ढिलो गरी रिलिज गर्ने निर्णयमा पुग्नु भने निर्माताको सही मूल्याङ्कन हो। नत्र, दाल, भात तरकारी नराम्ररी मिल्किन सक्थ्यो। एभेन्जर्सको यो श्रृङ्खला पर्दामा बलियो प्रतिस्पर्धीकै रुपमा दोस्रो सातामा पनि चलिरहेको छ। सुपर हिरोको कथामा विश्वव्यापी प्रभाव फैलाइसकेको यो फिल्मको लत बसेका दर्शकले स्वादविहीन दाल, भात, तरकारीलाई कति मीठो मानेर हेर्छन्, त्यसका लागि केही दिन प्रतीक्षा नै गर्नुपर्ने हुन्छ।