पूर्वमा अझै फानीको प्रभावः पूर्वानुमान मिलेको मौसमविद्को दाबी

 काठमाडाैँ बैशाख २१ । बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’को असरको कारण अहिले पनि पूर्वका धेरै ठाउँमा पानी परिरहेको छ।

यसको असर आज (शनिबार) साँझसम्म नेपालमा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

फानीको असर शुक्रबार दिउँसोदेखि नेपालमा परेको हो। शुक्रबार पूर्व र मध्य नेपालका अधिकांश भूभागमा वर्षा र सामान्य हावाहुरी आएको थियो।

पूर्वी नेपालमा फानीको असर शनिबार साँझसम्मै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन्।

‘मध्य क्षेत्रमा फानीको प्रभाव कम हुँदै गए पनि पूर्वमा अझै सकिएको छैन,’ नगरकोटीले नेपालखबरसँग भनिन्, दिउँसोपख पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ।’

महाशाखाले गरेको फानीको पूर्वानुमान मिलेको उनले बताइन्। ‘हामीले फानी चक्रवातको असर पूर्वमा वढी र मध्य क्षेत्रमा आंशिक पर्ने अनुमान गरेका थियौँ, त्यो मिलेको छ,’ मौसमविद् नगरकोटीले भनिन्।

शनिबार दिउँसोपख मध्य र पश्चिम नेपालका धेरै ठाउँमा पश्चिमी वायुको प्रभावले मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘आज दिउँसोदेखि मध्य र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना छ,’ नगरकोटीले भनिन्, ‘उच्च पहाडी र हिमालि भुभागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना पनि देखिएको छ।’