चितवनमा आर्थिक प्रगति न्यून, विकास खर्च ३५ प्रतिशत मात्रै

चितवन, वैशाख २१ । चालु आर्थिक वर्ष २०७५/०७६ को नौ महिनाको अवधिमा चितवनको पुँजीगत (विकास) खर्च ३५ प्रतिशत मात्रै देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले दिएको जानकारी अनुसार यस वर्षका लागि चार अर्ब ६ करोड ८९ लाख १६ हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन भएको थियो । विकासे कार्यालयहरुले भौतिक प्रगति धेरै गरेको भएपनि आर्थिक प्रगति भने न्यून देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले जनाएको छ ।

पुँजीगत खर्चमा कमी देखिएपनि चितवनमा चालु खर्च भने ६७ प्रतिशत देखिएको छ । चितवनमा आठ अर्ब ५१ करोड ७१ लाख ७७ हजार रुपैयाँमध्ये पाँच अर्ब ७७ करोड ६९ लाख ९३ हजार रुपैयाँ चालु खर्च भएको छ ।

जिल्लामा संघीय बजेटको तुलनामा प्रदेश सरकारले पठाएको पुँजीगत खर्च अझै न्यून देखिएको छ । प्रदेश नम्बर ३ सरकारले चितवनमा यस वर्षका लागि एक अर्ब ५१ करोड ४८ लाख नौ हजार रुपैयाँ विनियोजन गरेकोमा २१ करोड ७२ लाख ७० हजार रुपैयाँ मात्रै खर्च भएको देखिएको छ ।

प्रदेश सरकारको विकास खर्च १४ प्रतिशत मात्रै हो ।