किन आउँछ आँधी ?

काठमाडौं, बैशाख २० ।  अहिले फानी नाम गरेको सामुद्रिक आँधीले भारतको पूर्वी तटमा भारी वर्षा गराइरहेको छ । आँधीका कारण पूर्वाधारमा क्षति पुगेको छ भने अनेकौं रेल तथा हवाई सेवा रद्द गरिएका छन् ।

यसबाट जनजीवन नराम्ररी प्रभावित भएको छ । आँधीकै कारण विद्यालय तथा सरकारी कार्यालयहरु बन्द गरिएका छन् भने लाखौँ मानिसहरुलाई सुरक्षित स्थलतर्फ सारिएको छ । फानीको प्रभाव नेपालमा पनि सामान्य रुपमा देखा परेको छ । जसका कारण वर्षा भएको छ हावाहुरीको अवस्था भने बनेको छैन ।

साँच्चै, आँधीको निर्माण चाहीँ कसरी हुन्छ ?

सर्वप्रथम आँधी निर्माण हुन समुद्रको सतहमाथि रहेको हावाको तापक्रम उच्च हुनुपर्छ सामान्यतः २५ देखि २७ डिग्री सेल्सियसको तापक्रममा समेत आँधीको निर्माण हुने गर्छ । समुद्र सतहको तापक्रम जति उच्च भयो, आँधी उतिनै शक्तिशाली हुने गर्छ । सोही कारण सबै समुद्रमा आँधी निर्माण हुँदैनन् । भूमध्यरेखा आसपास तापक्रम बढी हुने भएकाले भूमध्यरेखीय क्षेत्रका समुद्रमा अधिकांश आँधीको निर्माण हुन्छ ।

यसअनुसार समुद्रको सतहमाथि रहेको ओसिलो हावाको तापक्रम बढी भएपछि तातो हावा माथि आकाशतिर जान्छ । समुद्र सतहमाथि रहेको तातो हावा माथि आकाशतिर गएपछि माथि गएको हावाको स्थानमा समुद्र नजिक थोरै मात्र हावा बाँकी रहन्छ ।

यसबाट त्यहाँ न्यून चापीय क्षेत्रको निर्माण हुन्छ । यो स्थानको पुर्ति गर्न आसपास रहेका ‘नयाँ’ तथा तुलनात्मक रुपमा चिसो हावा आइपुग्छन् । कालान्तरमा ‘नयाँ’ चिसो हावाको पनि तापक्रम बढ्दै जान्छ भने सोही क्रम अनुसार त्यो ‘नयाँ’ हावा पनि माथि जान्छ । त्यसपछि माथि आकाशमा भारी बादलको निर्माण हुन्छ ।

चापीय कारण ले यो सोली आकारमा वित्ताकार घुम्छ । क्रमसँगै यसको आकार पनि बढ्दै बढ्दै जान्छ । न्यून चापीय क्षेत्रमा हावाको परिपुर्ति गर्नका लागि समुद्रमा यस्तो प्रणाली अधिक चापीय क्षेत्र रहेको स्थानतर्फ अघि बढ्न थाल्छ । अघि बढ्दै जानेक्रममा यसको गति र क्षमता अतिविशाल र भयंकर हुँदै जान्छ । निकै नै तीब्र गतिको यही सामुद्रिक मौसमी प्रणालीले आसपासको क्षेत्रका हावापानीलाई समेत प्रभावित बनाउँछ र मैसममा बदली गराउँछ । त्यसपछि यसले कालान्तरमा जमिनमा प्रहार गर्छ ।

यसबेला अत्यन्त गतिवान हावा र माथि बादलमा रहेको पानी सबै छताछुल्ल हुन्छ । जमिनमा प्रहार गरिसक्दा यो प्रणालीलाई आवश्यक पर्ने ओसिलो हावा र चापीय क्षेत्रको अभाव हुन्छ र क्रमैसँग यो कमजोर हुँदै जान्छ । त्यसको केही समयपछि यो बिलाउँछ । यसैलाई हामी आँधी भन्छौँ ।