बुढेसकालको सहारा बन्दै म्याग्दीको गलेश्वरधाम

पोखरा , २० वैशाख ।

बुढेसकालको सहारा म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा विगत १० वर्षदेखि सञ्चालन हुँदै आएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम यस क्षेत्रका वृद्धवृद्धाका लागि बुढेसकालको सहारा बनेको छ ।  विसं २०६७ देखि बेनी नगरपालिका–९ गलेश्वरमा सञ्चालन हुँदै आएको आश्रममा अहिले ५५ वृद्धवृद्धा निःशुल्क आवासीय सुविधासहित सहारा लिइरहेका छन् ।

सामान्यतया ५० वर्ष काटेपछि आफ्नो छोराछोरीको सहारामा बाँचिरहेका हुन्छन् बुबाआमा । त्यसैले त भनिन्छ सन्तान बुढेसकालको सहारा हुन् । तर, तिनै बुढेसकालमा सहारा पाउने आश पालेका सन्तानका लागि बोझ बनेर बस्न नसेकेपछि ५५ ज्येष्ठ नागरिकका लागि यो आश्रम सहारा भएको हो । केही कामधन्दा गर्न नसक्ने बुवाआमालाई आफ्नै सन्तानले वास्ता नगरेपछि उनीहरु ज्येष्ठ नागरिक आश्रमको सहारामा बाँचेका हुन् ।

आफ्ना नातिनातिनासँग खेल्दै÷खेलाउँदै घरको आँगन, फूलबारी र खेतबारीको हेरचाह गर्ने उमेरमा एक्लै वृद्धाश्रममा बस्नु पर्दा उराठ र नरमाइलो लागेको विगत १५ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी यशोदा सरस्वतीले बताइन  । “आश्रमले सहारा त दियो तर मनबाट आफ्ना सन्ततीको मोह हटाउन सकेन”, यशोधाले भनिन, “आश्रमबाट छोराछोरीले पाउने जस्तो माया त पाएका छौँ तर आफ्ना सन्तानले अभिभावकलाई गर्ने स्नेह र अपनत्वको अभावचाहिँ भइरहँदोरहेछ ।”

दाताको सहयोग र गलेश्वर शिवालय मन्दिरमा चढेको भेटीबाट सञ्चालन हुँदै आएको गलेश्वरधाम ज्ेष्ठ नागरिक आश्रममा अहिले गण्डकी प्रदेशका सबै जिल्लाका साथै प्यूठान र सल्यानसम्मका ज्येष्ठ नागरिकले आश्रम लिएका छन् । आश्रममा मासिक रु चार लाख बराबरको खर्च हुने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष बमबहादुर पुनले बताए । “आश्रममा आउनुभएका बुबाआमालाई स्वास्थ्य उपचारदेखि बस्नेखाने, लत्ताकपडा सबै निःशुल्क दिने गरिएको छ, आश्रममा हुने खर्च दाता र गलेश्वर मन्दिरमा चढेको भेटीबाट जुटाउने गर्दछौँ”, पुनले भने ।

आश्रममा बिहान ९ बजेपछि घण्टी लाग्छ । त्यो घण्टी खाना तयार भएको जानकारी दिनका लगाइन्छ । घण्टीको आवाजसँगै वृद्धवृद्धा आफ्नो कोठाबाट थाल र कचौर लिएर भान्छामा पुग्छन् । बिहानको खाना खाएपछि शुरु हुन्छ भजनकीर्तन र त्यसपछि एकापसमा दुःखसुखका कुरा । यसरी नै बितिरहेको छ आफन्तबाट त्यागिएका तर आश्रमको सहारा पाएका ५५ वृद्धवृद्धाहरुको दैनिकी । –

रासस