गुण्डासँग ‘साँठगाँठ’ गर्ने डीएसपीको जागिर गयाे

काठमाडौं, २० बैशाख । गृह मन्त्रालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बन गरेको छ ।
डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो ।
गृह मन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ । यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर्ने प्रतिक्रिया दिएका थिए । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत छन् ।
ढुंगेलमाथि आईजीपीको सचिवालय र महानगरीय प्रहरी अपराध महाशाखाले छानबिन गरिरहेको छ । गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डीएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलेको थियो ।
श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेस्टुरेन्टमा भेट भएको समेत अनुसन्धानका क्रममा खुलेको थियो । उनीहरू भेट भेटेकै दिन शेरचन्दको घरमा डकैती घटना भएको हो । प्रहरी हिरासतमा रहेका श्रेष्ठले डीएसपी ढुंगेलसँगको भेटघाट भएको स्वीकारेका छन् । समाचार नेपाल समाचारपत्रमा छ ।