मनिषाको हत्या, सासु र श्रीमान पक्राउ

काठमाडौं, २० बैशाख । सिरहामा एक महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१४ खीरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डलको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आंशकामा सासु तारामण्डल र श्रीमान रामरेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान मनिषाको शव सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक महिलाको घाटीमा डाम देखिएको छ ।

मण्डलको परिवारमा दाइजो कम भएको भन्दै शारीरिक याताना तथा कुटपिट गर्ने गरेको माइती पक्षले आरोप लगाएका छन् । गत फागनु १७ गते रामेरेश मण्डलसँग मनिषाको विवाह भएको थियो ।

घटनाको मुचुल्का तयार गरी शवलाई जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जानकारी दिएको छ । जनता समाचारमा समाचार प्रकाशित भएको छ ।