चितवनसहित देशैभर मनाईयो २६ औं प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानून संशोधन गर्न माग

चितवन, २० बैशाख । आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस, चितवनसहित देशैभर पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ।  नेपालमा यस वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया स् इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित यो दिवस मनाईदैछ।
दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोगसँगको सहकार्यमा प्रेस स्वतन्त्रता सम्मेलनको आयोजना गरेका छन्।
सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ। नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि यी कानूनहरुले स्वतन्त्र प्रेसलाई संकुचित बनाउने आशंका विभिन्न क्षेत्रबाट गरिएको छ।

यसैविच चितवनमा पनि आज प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । पत्रकार महासंघ चितवनको प्रहरी कार्यालय अगाडीबाट चौबिसकोठीसम्म र्याली निकालीएको थियो ।
र्यालीपछि आयोजित कोणसभामा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडासहित पत्रकार सम्बद्ध नेताहरुले बालेका थिए ।
यसैविच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष आचार्याले २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाएको भन्दै राज्यको प्रतिबद्धता अझै पुरा हुन नसकेको औंल्याएका छन्।
दिवसको अवसर पारेर बुधबार काठमाडौंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता र्‍याली आयोजना गरिएको थियो।