चितवनमा अत्याधुनिक शीत भण्डार सञ्चालनमा ल्याउने तयारी

 चितवन,बैशाख १९ । उत्पादन गरेरपनि उचित बजार नपाइरहेका बेला यहांँका किसानका लागिे अत्याधुनिक शीत भण्डार सञ्चालनमा ल्याउने तयारी गरिएको छ। चितवनको चनौलीमा सार्वजनिक नीजि साझेदारी मोडल अनुसार शीत भण्डार (कोल्ड स्टोर)को निर्माण अन्तिम चरणमा पुगेको छ ।
करिब १५ करोड रुपैया लगानीमा निर्माण सम्पन्न हुन लागेको चितवन चनौली शीत भण्डार संस्था लिमिटेड सञ्चालनमा ल्याइने तयारी गरिएको हो । आगामी माघ महिनाबाट पूर्ण रुपमा संचालनमा ल्याईने लक्ष्यका का साथ काम भइरहेको भण्डारणका अध्यक्ष तीर्थराज रेग्मीले जानकारी दिए । शीत भण्डारण करिब २५०० मेक्ट्रिक टन क्षमताको रहने छ ।
चितवन चनौली शीत भण्डार परियोजना अन्र्तगत निर्माण भैरहेको शीत भण्डार संचालनमा आएपछि चितवन तथा छिमेकी जिल्लाहरुका किसानहरुले उत्पादन गरेका विभिन्न कृषि उपजहरु अब खेर जान नपाउने भण्डारका अध्यक्ष तीर्थराज रेग्मीले बताए । मौसमअनुसार उत्पादन हुने र छिटै नस्ट हुने उपजहरुलाई शीत भण्डारमा भण्डारण गरेपछी नस्ट नहुने र किसानले आफ्नो परिश्रम र उत्पादनको सही मूल्य प्राप्त गर्ने उनको भनाई छ ।

शीत भण्डारमा कृषि जन्यउत्पादन ,दुग्ध जन्य पदार्थ र मासु जन्य पदार्थकोको सुरक्षित भण्डारण गरिनेछ । यसको लागि अत्याधुनिक लिफ्ट सहितको ५ तल्लाको भवन तयारी सम्पन्न गर्न लागिएको भण्डारका प्रबन्ध निर्देशक तथा सचिव सुर्यमणी पौडेलले जानकारी दिए । उनका अनुसार भण्डारको भुईतल्लामा मासु लगायतका अन्य वस्तुहरु भण्डारण गर्न मिल्नेगरी निर्माण भैरहेको छ । अन्य तल्लामा सोही अनुसारका उत्पादनहरु भण्डारण गरिने छ । ‘शीत भण्डारण सञ्चालन आएपछि मिल्क होलिडे, चिकेन होलिडेको अन्त्य हुनुको साथै कृषकले उपजको उचित मूल्य पाउनेछन’ उनले भने ।
चितवन तथा छिमेकी जिल्लाहरुका साना किसान , कृषि उद्यमी व्यवसायीहरु, सहकारी संस्थाहरुमा आबद्घ किसानहरुको साझा संस्था शीत भण्डार तत्कालिन २०७० सालदेखिनै मध्यमाञ्चलकै अत्याधुनिक परियोजना अन्र्तगत निर्माण भैरहेको हो । हाल यो शीत भण्डार प्रदेश ३ केन्द्रिय सरकारको शहकारी विभाग अन्र्तगत पर्दछ ।
यस परियोजनाले सिजनमा उत्पादन एका फलफूल तथा तरकारीहरु अफ सिजनमा बिक्री गर्नेछ । परियोजनाले अतिmरिक्त आम्दानीको लागि बरफ उत्पादन तथा सो सँग सम्वन्धित अन्य बस्तु पनि उत्पादन समेत गर्ने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

संस्थामा संस्थागत र व्यक्तिगत गरी सहभागिता भएको छ । चितवन जिल्ला तथा छिमेकी जिल्लाहरुमा कार्यक्षेत्र भएका शहकारी संस्था र व्यक्तिहरु भण्डारका सदस्यहरु रहेका छन् ।
हाल सेयर सदस्य ३९० रहेको भण्डारमा ३४६ व्यक्तिगत तथा ४४ वटा संस्थागत रुपमा आवद्घ छन् ।
शीत भण्डार प्रदेश सरकार शहकारी विभागको पचास प्रतिशत अनुदान र सहकारी संस्था एवं त्यसमा आवद्घ साना किसानहरुको साझेदारीको पचास प्रतिशत लागानी बाट संचालन हुन लागेको हो ।