सृजनशिल बालविकासद्धारा आंशिक छात्रवृत्ति प्रदान

दुलेगौंडा, १९ बैशाख ।

पोखरामा रहेको सृजनशिल बालविकास कार्यक्रमले बुधवार १४ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । शुक्लागण्डकी–७ टुडामा आयोजित कार्यक्रममा शुक्लागण्डकी र भिमाद नगरपालिकाका विभिन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

सो अवसरमा बोल्दै बाल विकास कार्यक्रमका अध्यक्ष धनु गिरीले आर्थिक समस्याका कारण पढ्न नसक्ने विद्यार्थीलाई नगद तथा शैक्षिक सामाग्री प्रदान गरेको जानकारी दिदै प्राप्त सामाग्रीको उपयोग गर्न आग्रह गरे । ‘अहिलेका छोराछोरी बुढेसकालका सहारा हुन,’ उनले भने, ‘भोली उनीहरुबाट राम्रो अपेक्षाका लागि आज शिक्षा राम्रो दिनुपर्ने हुन्छ ।’ उनले आगामी दिनमा सिपमुलक तालिम लिएर स्वाबलम्बी हुनुपर्नेमा जोड दिए ।

बालविकासका फिल्ड सुपरभाइजर नवराज गिरीले संस्थाले तनहुँमा ८३ जना विद्यार्थीलाई सहयोग गर्दै आएको जानकारी दिए । सो अवसरमा विद्यार्थीलाई कपि, झोला जुत्ता, विद्यालय पोशाक लगायतका गरि करिव ५३ हजार रुपैयाको सामाग्री प्रदान गरिएको हो ।