भारतमा १२ बर्षिय बालिकामाथि बलात्कार पछि ढुङगाले हानेर फुटाएर निर्मम हत्या

एजेन्सी, १९ बैशाख । भारतमा दुई युवकले मन्दिर दर्शन गर्न गएकी १२ वर्षे बालिकामाथि बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या गरेका छन् ।

भारत मध्यप्रदेशको राजधानी भोपालमा आफ्नी १६ वर्षे किशोरी आफन्तसँग मन्दिर दर्शन गर्न गएकी बालिकामाथि मंगलबार दुई युवकले बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर हत्या गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्दिर दर्शन गर्न गएकी बालिकालाई दुई जना नचिनेका युवाहरुले एकान्त ठाउँमा लगेर बलात्कार गरेको र बलात्कारपछि ढुङ्गाले टाउको फुटाएर हत्या गरेका थिए ।

बालिकालाई बलात्कार गर्न युवाहरुले लिएर गएका बेला ती आफन्त बालिकाको साथमा नरहेको र बालिकामाथि ती युवाहरुलाई बलात्कार गर्न छुट दिएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको अधिकारीले जनाएका छन् ।

घटना भएको भोलिपल्ट बालिकाका आमाबाबुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले ती आफन्त किशोरी र स्थानीय दुई युवाहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

बलात्कारको खबर सुनेर बालिकाकी आमा वेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । मध्य प्रदेश भारतमा सबैभन्दा धेरै बलात्कार हुने राज्यमा पर्ने गरेको छ ।