चितवनमा तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

चितवन, १९ बैशाख । चितवनको भरतपुरमा तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारतको दिल्ली, पञ्जाब, मेरेठका खेलाडीहरु सहभागी छन् ।
तीन दिनसम्म हुने प्रतियोगितामा चितवनका ५२ खेलाडीसहित नेपालका दुई सय तथा भारतबाट २० जना खेलाडी सहभागी छन् । ५४ वटा स्वर्णपदक, ४५ वटा रजत तथा ९० वटा कास्यका लागि प्रतिस्पर्धा हुने जापान गोजु रियो कराँते डो केन्वाकाई नेपाल संघ चितवनका प्रमुख प्रशिक्षक राजु पौडेलले जानकारी दिए । पौडेलका अनुसार ६ वर्षमुनिका बालबालिकाबीच छुट्टै प्रतिस्पर्धा हुनेछ भने १४ वर्षसम्मका बालबालिकाहरुको उमेर समूहमा, १४ देखि १९ वर्षका खेलाडीहरुको तौल समूहमा तथा १९ वर्ष भन्दा माथी उमेर समूहका खेलाडीहरुबीच खुल्ला प्रतिस्पर्धा गराइनेछ ।
सबै प्रतिस्पर्धामा काता र कुमुते (फाइट) गराएर पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगितामा टिम पहिलो हुनेले ३० हजार, टिम दोस्रो हुनेले २० हजार तथा टिम तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट फाइट र काता तर्फ महिला र पुरुष गरी चार जना खेलाडीलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले चितवनको खेल क्षेत्रलाई माथी उकास्ने बताए ।