प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

धनुषा, १९ बैशाख । प्रदेश २ को नाम र राजधानी म्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संवाद तथा सुझाव आयोगका संयोजक डा.हरिवंश झाले प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाउनु भएको हो ।
प्रदेशको नाम र राजधानीको टुंगो लगाउन २०७५ कार्तिक ११ गते प्रदेश सरकारले डा.हरिवंश झाको नेतृत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो । आयोगले आठवटै जिल्लामा गएर रजानीतिक दलका प्रतिनिधि, पत्रकार, वकिल, बुद्धिजीवी नागरिक समाज तथा सर्वसाधारणसँग प्रदेश २ को नाम र राजधानीको विषयमा सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको हो ।
यद्धपि उहाँले नाम र राजधानी कुनमा बढी जनताको सुझाव छ भन्ने कुरा खोल्न मान्नु भएन । आयोगका संयोजक झाका अनुसार ८ सय प्रश्नावलीमार्फत सुझाव संकलन गरिएको छ । यस कार्यमा आयोगले ३० लाखमध्ये १७ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी छिटो टुंग्याउन आयोगबाट प्राप्त प्रतिवेदन चाँडै प्रक्रियामा बढाउने बताउनुभयो ।