रेलको लिकमा उचिएर सेल्फी लिँदा भारतमा तीन किशोरको मृत्यु

काठमाडाैँ बैशाख १९ ।भारतको हरियाणामा रेलमार्गमा उभिएर सेल्फी खिच्दा तीन किशोरीको मृत्यु भएको छ। हरियाणा राज्यको पानीपतमा रेलको लिकमा उभिएर सेल्फी लिँदै गरेका तीन किशोरीको रेलले किचेर मृत्यु भएको हो। प्रहरीका अनुसार सेल्फी लिँदै गरेका चौथा व्यक्ति भने जोगिएका छन्।

प्रत्यक्षदर्शी एमएस डबासका अनुसार चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै थिए। त्यही वेला तीव्रगतिमा आएको रेलले तीनैजनालाई किचेको हो। उनीहरुको नाम भने खुलाइएको छैन।

भारतमा किशोर–किशोरी र युवा–युवतीले खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढ्दै गएको छ।

दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फरमेसनका अनुसार पछिल्ला वर्षमा भारतमा सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ।

सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा विश्वभर १२७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती थिए ।

गतवर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिने क्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर, सेल्फी लिने क्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ।