हरियो वन कार्यक्रम अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल

चितवन, १९ बैशाख । चितवनमा सञ्चालन भएको हरियो वन कार्यक्रम अन्तर्गतका सरोकारवालाहरुसँग प्राकृतिक स्रोत व्यवस्थापन समुहरुको संस्थागत क्षमतामा उपलब्धी, असल अभ्यास, चुनौती बारे समीक्षा गोष्ठी सम्पन्न भएको छ । आज नारायणगढमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उपभोक्ता तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमा डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत कलाधर बास्तोला प्रमुख अतिथि रहेका थिए ।
सो कार्यक्रमा डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत कलाधर बास्तोलाले प्राकृतिक स्रोत र साधनको दोहन भन्दा पनि संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वनका तर्फबाट मछिन्द्र पाण्डेले मन्तव्य राख्दै संरक्षण कार्यमा चुनौति थपिएको बताए ।
कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णकुमार श्रेष्ठले प्राकृतिक स्रोत र साधनको दोहन अत्यधिक भइरहेको बताए । स्रोत साधन भएको ठाउँमा स्थानीय तहबीच आफ्नो सीमा भन्दै झगडा गर्ने र काम गर्नुपर्ने ठाउँमा अरुको भन्दै पन्छाउने काम भइरहेको श्रेष्ठले बताए । खगेरी जलाधार क्षेत्रलगायतका ठाउँको संरक्षणमा सबैले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।
गोष्ठीका क्रममा वन विकास मार्गदर्शन २०७१, समुहको सुशासन अवस्था आंकलन र समूहको संस्थागत क्षमता आकलन मुख्य खम्बा तथा सूचकबारे शेखरबहादुर अधिकारीले कार्यपत्र राखेका थिए । संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालनका लागि परिपक्क समह छनौट, परिचालन सम्बन्धी हरियो वनका सुरेश भण्डारीले जानकारी दिएका थिए ।
सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी छलफल गरिएको सो कार्यक्रममा विकला वाग्लेले प्राकृतिक स्रोत व्यवस्थापन समूहहरुको संस्थागत क्षमताका कार्यक्रम, फलोअप, पुन आंकलन पश्चात तुलनात्मक विश्लेषण, मुख्य उपलब्धी तथा असल अभ्यासको बारेमा जानकारी गराएकी थिइन् ।
दियालो परिवारका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा दियालो परिवारका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले स्वागत मन्तव्य राखेका थिए ।